काठमाडौं, १ असार । वन तथा वातावरणमन्त्री तथा नेकपाका प्रभावशाली नेता शक्तिबहादुर बस्नेतले एमसीसी संसदबाट पारित हुने स्पष्ट पारेका छन् । उनले हरेक पार्टीभित्र एमसीसी छलफल र बहसको विषय बनिरहेको सुनाए । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमसीसी राष्टिय महत्वको एजेण्डाको रुपमा स्थापति रहेको स्पष्ट पारे । उनले आफ्नो पार्टीभित्र पनि एमसीसीबारे मत एकता नभईसकेको जनाए ।
उनले भने,’यसबारेमा के गर्ने भन्नेबारे सचिवालय बैठक बसेर एउटा धारणा बनाउला । एमसीसीबारे सबै दलमा विभिन्न मत मतान्तर छन् ।’ उनले आफ्नो पार्टीमा एमसीसी पारित गर्नैहुन्न भन्ने तहको बहस भने नभएको जिकिर गरे । नेता बस्नेतले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कमजोर नभएको जिकिर गरे । दुवै अध्यक्षको समझदारीमा नै पार्टी अघि बढिरहेको उनको भनाई छ ।