एजेन्सी, २ असार । भारत र चीनबीच सिमामा बढेको तनाव हिंसामा परिणत भएको छ । सोमबार राति दुवै पक्षबीच झडप हुँदा तीनजना भारतीय सैनिकको मृत्यु भएको छ ।
भारतको सेनाले गलवान उपत्यकामा भएको झडपमा एक अधिकृतसहित तीनजना सैनिकको मृत्यु भएको पुष्टि गरेको छ । उनीहरुको परिचय खुलाइएको छैन ।
भारतीय सञ्चारमाध्यमले सेनाको विज्ञप्ति प्रकाशित गरेका छन् । विज्ञप्तिमा दुवै क्षेत्रमा हताहती भएको उल्लेख छ ।
भारत र चीनबीच सिमा क्षेत्रमा तनाव बढेपछि सैन्य तहमा वार्ता भइरहँदा घटना भएको हो । झडप भएपछि वार्ता जारी रहने उल्लेख छ ।
भारत र चीनका सैनिकबीचको झडपमा ४५ वर्षपछि हताहती भएको हो । यसअघि सन् १९७५ मा भारतीय सैनिकलाई चिनियाँ सैनिकले अरुणाञ्चल प्रदेशमा एम्बुसमा पार्दा हताहती भएको थियो ।