काठमाडौँ, ३ असार । कैलालीका स्थानीय तह आगामी वर्षको नीति तथा कार्यक्रमको तयारीमा जुटेका छन् । स्थानीय तह ८० दिन लामो बन्दाबन्दीले कृषि क्षेत्रमा असर परेकाले कृषि विकासमा जोड दिने खालका नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेका छन् ।
बन्दाबन्दीले किसान बढी मर्कामा परेका छन् । स्थानीय तरकारी उत्पादक बढी मारमा परेकाले किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने स्थानीय तहका कृषि शाखाको तयारी छ । तरकारी तथा नगदेबालीलाई प्रोत्साहन हुने किसिमका कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताएका छन् ।
“भारत तथा विदेशमा रोजगारी गर्नेहरु घर फर्किएका छन्, उनीहरुलाई कृषिमा जोड्न कृषिलाई प्राथमिकतामा राखेका छौँ”, कृषि शाखा प्रमुख चौधरी भने, “अघिल्ला वर्षभन्दा आउँदो वर्षको बजेटमा कृषिमा दोब्बर बजेट आउँछ ।” उत्पादनमा जोड दिने र बजारीकरणलाई प्राथमिकता दिनेमा स्थानीय सरकार सचेत भएको उनको भनाइ छ । कैलालीकै जोशीपुर गाउँपालिकाले पनि आउँदो वर्ष बेमौसमी तरकारी खेतीलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउन थालेको जनाएको छ ।
गाउँपालिकाले बन्दाबन्दीका कारण कृषिमा भएको क्षतिको विवरण सङ्कलन गरी उनीहरुलाई राहत पुग्ने खालका कार्यक्रम ल्याउने गाउँपालिकाका कृषि शाखा प्रमुख हर्क बमले बताएका छन् । “यसपटक किसानसँग छलफलमा जुटेका छौँ, किसानलाई राहत, अनुदानमात्र नभई उत्पादनमुखी बजेट ल्याउने तयारी छ”, शाखा प्रमुख बमले भने, “कोरोना भाइरस सङ्क्रमणका कारण आम्दानीमूलक कार्य घटेका छन् । यस्तो बेला खाद्य सङ्कट हुनसक्छ भनेर पनि कृषिलाई प्राथमिकतामा राखेका छौँ ।” (रासस)