बुटवल, असार ४ । स्थानीय तहका जनप्रतिनिधि नै ‘ठेकेदार’ भएपछि नदी दोहन बढेको छ। यसले स्थानीय सरकारले पाउनुपर्ने राजस्व घट्दै जाने र नदी दोहन बढ्दै गएको हो। प्रदेश ५ का तराईका जिल्लामा अत्यधिक दोहन छ। कानुनतः जेठ मसान्तपछि नदीको उत्खनन गर्न पाइँदैन तर असार लागेपछि पनि दोहन रोकिएको छैन।
रूपन्देहीका देवदहमा नदी दोहन भएको भन्दै वडाध्यक्षका छोराविरुद्ध नगरपालिकामा उजुरी प¥यो। देवदह नगरपालिका ७ का अध्यक्ष पदम थापाका छोरा सुशील नदीजन्य पदार्थको कारोबार गर्छन्। उनकै घर छेउमा डम्पिङ गरेर राखिएको अवस्थामा ठूलो मात्रामा नदीजन्य पदार्थ भेटिएको थियो। नगरपालिकाले छानबिन गरे पनि प्रमाण फेला नपरेको भन्दै कारबाही भने गरेन।
नगरपालिकाले नै नदीको अत्यधिक दोहन भयो भन्दै प्रहरीमा निवेदन दिएको थियो। यसरी हुने दोहनमा जनप्रतिनिधिकै संलग्नता रहेको स्थानीयहरू बताउँछन्। रोहिणी, चरंगे, भलुही, घोडहा, कजगर नदीबाट बढी दोहन हुने गरेको छ। नदीको दोहनले बाढी र कटानको जोखिम बढेको स्थानीय टोल विकास संस्थाकी अध्यक्ष मैना आचार्य बताउँछिन्। उनको संस्थाले नदी दोहन भयो भन्दै नगरपालिकामा उजुरीसमेत हालेको थियो।
देवदह नगरले चालू वर्षमा नदी उत्खननको ठेक्का नै लगाएन। नगरपालिकाका प्रशासकीय अधिकृत हरिदत्त कँडेलका अनुसार चालू वर्षमा ७ करोडको राजस्व संकलन अनुमान गरिए पनि मुस्किलले साढे दुई करोड पुग्दैन। ‘नदीजन्य पदार्थको उत्खननको ठेक्का लगाउनै पाएनौं, उनले भने,‘जसले गर्दा राजस्व संकलन हुन सकेन।’
नगरले ठेक्का नलगाए पनि देवदहका नदी उत्खनन भइरहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।