Logo

कोरोना संक्रमित महिलाको अन्त्येष्टिमा सैनिकले गरे सलाम



नेपालगञ्ज, ४ असार । टाउकोमा चोट लागेर कोहलपुर अस्पतालमा पुरयाएपछि उपचारकै क्रममा मृत्यु भएकी कैलालीको लम्की नगरपालिका -२ की ४३ वर्षीय महिलाको बिहीबार नेपाली सेनाको टोलीले स–सम्मान अन्त्येष्टि गरेको छ ।

ती महिला काेराेना सङ्क्रमित भेटिएपछि बिहीबार बाँकेको ढकेरी नजिकको जङ्गलमा एक्स्काभेटरले खाल्डो खनेर ती महिलाको सम्मानपूर्वक अन्त्येष्टि गरिएको हो । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले र नेपाली सेनाको भैरवप्रसाद गणका गणपति नकुल थापाको उपस्थिति रहेको थियो ।

उता, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आएकामध्ये एकपछि अर्को गरेर दुई जनाको कोरोनाले मृत्यु भएपछि त्यहाँ कार्यरत चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी र कर्मचारी त्रसित भएका छन् ।

यसै साता मात्र सो अस्पतालमा आएका बिरामीमध्ये दुई जनाको मृत्युपछि कोरोना पुष्टि भएको र दुई जना सङ्क्रमितको अझै उपचार भइरहेकाले उनीहरूको सम्पर्कमा आएका १३ जना चिकित्सकसहित ६७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ ।
यति धेरै जना चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्नुपर्दा एकातिर कोहलपुर अस्पतालको सेवा प्रभावित भएको छ भने अर्काेतिर धेरै बिरामीले उपचार पाउन नसकेको नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ ।

नेपालगञ्ज मेडिकल कलेजका सहनिर्देशक डा. नितेष कनौडियाका अनुसार एकपछि अर्को गरी चार जना सङ्क्रमित अस्पतालमा उपचारका लागि आएको र तीमध्ये दुई जनाको मृत्युसमेत भइसकेको हुँदा पटकपटक आपतकालीन सेवालगायत आइसियु, शल्यक्रिया कक्ष, शल्यक्रिया वार्डसमेत सिल गर्नुपर्दा सेवा प्रभावित भएको छ ।-गोरखापत्रबाट



प्रतिक्रिया दिनुहोस्