Logo

कोरोनाबाट मृत्यु भएका कैलालीका दुई जनाको शव व्यवस्थापन



भवानी ऐर, गोदावरी। कोरोना सङ्क्रमणका कारण मृत्यु भएका कैलालीका दुई जनाको शव व्यवस्थापन गरिएको छ । गोदावरी नगरपालिकाका पुरुष र लम्कीचुहा नगरपालिकाकी महिलाको आज छुट्टाछट्टै स्थानमा शव व्यवस्थापन गरिएको हो ।

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका गोदावरी नगरपालिका वडा नंं १ का कोरोना सङ्क्रमित पुरुषको नेपाली सेनाले शव व्यवस्थापन गरेको छ । मृतकको शव स्थानीय मोहना नदी किनारमा मापदण्ड अनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । मृतकका आफन्तले भने टाढैबाट शव व्यवस्थापन हेर्न मात्रै पाएका थिए ।

उता, कोरोनाका कारण मृत्यु भएकी कैलालीको लम्कीचुहा नगरपालिकाकी महिलाकाे शव बाँकेको जङ्गलमा व्यवस्थापन गरिएको छ । उहाँको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । उहाँको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

कोरोनाका कारण मृत्यु भए कसरी हुन्छ शव व्यवस्थापन ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शव व्यवस्थापन कार्यविधि बनाइसकेको छ । कोरोनाले मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य रोगी अर्थात मृतकको जस्तो हुँदैन । सरकारले तयार पारेको कार्यविधि अनुसार शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य लगाउनुपर्छ ।

कार्यविधि अनुसार अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई लगाउनुपर्ने छ । शवलाई कमभन्दा कम चलाउने गर्नुपर्छ । कार्यविधिमा उल्लेख भएअनुसार शवमा लागेका पाइप, केथेटरलगायत सामग्री हटाउँदा सर्तकता अपनाउनुपर्छ ।

शवको कुनै भागबाट रगत बगिरहेको भए होसियारीपूर्वक बन्द गर्नुपर्छ । मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिन्छ तर, सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनुपर्नेछ । साठी वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नहुने कार्यविधिमा उल्लेख छ ।

अन्तिम संस्कार गर्नुअघि आफ्नो कुल परम्परा अनुसार शव नछोई पानी छर्किने, पाठ गर्ने र फूलमाला चढाउने गर्नुपर्छ । मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइकन कम्तीमा एक मिटर टाढाबाट एक/एक जनाले पालैपालो हेर्न पाउनेछन् ।-गोरखापत्रबाट



प्रतिक्रिया दिनुहोस्