काठमाडौँ, ५ असार । कर्णाली प्रदेश सरकारको आगामी आव ०७७/०७८ को बजेटमाथि बुधबारबाट शुरु भएको छलफल बिहीबार पनि जारी रहेको छ ।
कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको बिहीबार बसेको १५औँ बैठकका छलफलमा भाग लिँदै नेकपा कर्णाली प्रदेशसभाका प्रमुख सचेतक गुलाबजङ्ग शाहले जनता सडक कार्यक्रम यो वर्ष शहीद भएको टिप्पणी गरेका छन् ।
पालमुनि बसेका बाढीपीडितको घर निर्माण र स्थानीय तहका जनप्रतिनिधिको मर्का सम्बोधन गर्नतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै, सचेतक सीताकुमारी नेपालीले महामारी, भोकमारी र रोजगारीका लागि बजेट पर्याप्त देखिएको यद्यपि अङ्क नतोक्दा आशङ्का पैदा हुने टिप्पणी गरेका छन् ।
यता प्रदेशसभा सदस्य दानसिंह परियारले बजेटले दलितलाई मूलप्रवाहीकरण गर्न सक्ने वा नसक्ने भन्ने कुरामा प्रश्न गरेका छन् । बजेट बुर्जुवा प्रकृतिको भएको टिप्पणी गर्दै सदस्य परियारले दलित र विपन्न वर्ग लाभान्वित हुने गरी कार्यान्वयनमा जोड दिन सरकारलाई आग्रह गरेका छन् । प्रदेशसभा ठम्मर विष्ट बजेट मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय केन्द्रित गर्न नहुने जनाएका छन् । उनले प्रदेशको दुव्र्यसनी निराकरण गर्ने र सुकुम्वासी समस्या समाधानका कुरा पनि बजेटमा समेटिनुपर्ने सुझाव दिएका छन् ।
बजेटमाथि छलफलमा प्रदेशसभा सदस्य धर्मराज रेग्मी, गणेशप्रसाद सिंह, कृष्णा शाह, राजु नेपाली, दिनबन्धु श्रेष्ठ, यज्ञ बिसी, झोवा विक, पद्मा खड्का बद्मीक्वारी बोहोरा, अमृता शाही, सोशिला शाही, बीरबहादुर शाहीलगायतले आफ्ना धारणा राखेका थिए । बजेटमाथिको छलफल आज पनि जारी रहने सभामुख राजबहादुर शाहीले जानकारी दिएका छन् । (रासस)