Logo

एमसीसीबारे निर्णायक छलफलमा नेकपाका शीर्ष नेता



काठमाडौं, असार ५। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे निर्णायक छलफलमा जुटेका छन् । एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्बाट पारित गरिसक्नुपर्ने अवस्था रहेकाले नेकपा नेताहरू निर्णायक छलफलमा जुटेका हुन् ।

नेकपाभित्र एमसीसी सम्झौताको पक्ष र विपक्षमा एक वर्षदेखि चर्को बहस भइरहेको छ । शीर्ष नेताहरूबीच सहमति नजुट्दा लामो समयदेखि यो बहसकै विषय बनिरहेको छ ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतका शीर्ष नेताहरू आन्तरिक गृहकार्यमा जुट्नुका साथै भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् ।

नेताहरूले यो विषयमा केही दिनअघि मात्रै पनि राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटासँग पनि छलफल गरेको स्रोतले जनाएको छ ।

पार्टी नेताहरूबीच सहमति जुट्न नसक्दा राष्ट्रपति भण्डारी र सभामुख सापकोटाले सहमतिको मिलनबिन्दुसम्म पुग्ने पहल गरेको स्रोतको दाबी छ । गत आइतबार र सोमबार नेकपा अध्यक्षद्वय ओली र दाहालले राष्ट्रपति भण्डारीलाई भेटेका थिए । भेटमा एमसीसी सम्झौताकै बारेमा छलफल भएको हो ।

मंगलबार दाहालले वरिष्ठ नेता नेपालसँग प्रत्यक्ष छलफल गरे पनि अन्य नेताहरूसँग टेलिफोन संवाद गरेका छन् । यस्तै, वरिष्ठ नेता खनालका साथै उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापासँग दाहालले छलफल गरेका छन् ।

मंगलबार नै दाहालले सभामुख सापकोटासँग पनि छलफल गरेको स्रोतले जनाएको छ । सभामुख सापकोटाले राजनीतिक दलका बीचमा सहमति भए आफू एमसीसी सम्झौता संसद्मा अगाडि बढाउन तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमका साथै सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेलसँग भेटघाट गर्दै एमसीसीलाई टुंगोमा पु(याउने विषयमा छलफल गरेका छन् ।

बुधबार साँझ अध्यक्षद्वय ओली र दाहालबीच यस विषयमा लामो छलफल भएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस एमसीसी सम्झौता संसद्बाट पारित गर्नमा एकमत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेकपाले निर्णय गर्नमा ढिलाइ गर्न नहुने बताए । ओली र दाहालबीचको छलफलपश्चात् आगामी बुधबार (१० असार)मा नेकपा स्थायी कमिटी बैठक बोलाइएको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्