Logo

महामारी रोकथामसँगै स्वरोजगार अभिवृद्धि प्राथमिकतामा



काठमाडौँ, ५ असार । कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारी रोकथामसँगै स्वरोजगार अभिवृद्धिका कार्याक्रमलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष युवराज कुँवरले कोरोना सिर्जित असामान्य अवस्थाका कारण वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवालाई निजको ज्ञान, सीप, अनुभवलाई प्रयोग गरी स्वरोजगार तुल्याउनका साथै आन्तरिक उत्पादनमा आत्मनिर्भरता कायम गरिने उनले बताएका छन् ।

कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमीनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबालीका पकेट क्षेत्रका रूपमा घोषणा गर्दै आधुनिक तरिकाले कृषिलाई व्यवसायीकरण गर्न प्रोत्साहित गरिने गाउँपालिकाले नीति लिएको छ । स्थानीय तहमा उत्पादित खाद्यान्न सञ्चिती एवं संरक्षण गर्ने र कुनै पनि प्रकारका खानेकुरा खेर नफाल्न गाउँपालिकावासीलाई सचेतना अभिवृद्धि गर्न ‘खाना नफालौँ कार्यक्रमलाई विशेष अभियानका रूपमा सञ्चालन गरिने अध्यक्ष कुँवरले बताएका छन् । गाउँपालिकाले ‘एक कृषक, एक दुहुनो गाई र भैँसी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने नीति लिएको छ ।

पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न गाउँपालिकास्तरीय पर्यटन गुरुयोजना निर्माण गर्नुका साथै पर्यटकीय पूर्वाधार निर्माणका लागि डिपिआर तयारी गर्ने, एवं यस क्षेत्रको प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई समेटी डकुमेन्ट्री फिल्म निर्माण गरी पर्यटकीय सम्भावनाको प्रचारप्रसार, संरक्षण र प्रवद्र्धन गरिने जनाइएको छ ।

नेपालको एक महत्वपूर्ण पर्यटकीय क्षेत्र एवं गन्तव्यका रूपमा रहेको घान्द्रुकलाई सांस्कृतिक गाउँको रूपमा घोषणा गर्न आवश्यक पूर्वाधार संरचना निर्माण गरी परम्परागत सांस्कृतिक गाउँको पहिचान कायम गर्ने नीति लिइने गाउँपालिकाले भनेको छ । गाउँपालिकाभित्र स्थापना भएका सहकारीको गुणस्तर र प्रभावकारितालाई नियमन, अनुगमन र सहकारी शिक्षामा जोड दिँदै सहकारी दर्ता प्रक्रियालाई सहज र सरल तुल्याइने अध्यक्ष कुँवरले बताएका छन् ।

‘एक गाउँ, एक सडक’ निर्माण कार्यलाई निरन्तरता दिई अधुरा सडक ट्रयाकको पूर्णताका साथै गाउँपालिका केन्द्र एवं मध्य पहाडी लोकमार्गदेखि वडा केन्द्र जोड्ने रणनीतिक महत्वका सडक स्तरोन्नति गरी बाह्रै महिना सञ्चालन हुने अवस्थामा ल्याइने अध्यक्ष कुँवरले बताएका छन् । अन्नपूर्ण पोलिटेक्निकल इन्स्टिच्युटका लागि आवश्यक जग्गा उपलब्ध गराई सञ्चालनका लागि आफ्नै भवन निर्माण कार्य अगाडि बढाइने गाउँपालिकाले भनेको छ । शिक्षकको मनोबल उच्च राख्न ‘शिक्षकलाई सम्मान गरौँ, बालबालिकालाई माया गरौँ’ भन्ने आदर्शलाई प्राथमिकतामा राखी शिक्षण पेशालाई सम्मानित र मर्यादित पेशाका रूपमा विकास गरिने अध्यक्ष कुँवरले बताएका छन् ।

सङ्क्रामक रोग, महामारी तथा दैवी प्रकोपजस्ता समस्यामा पनि शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिन दूर तथा वैकल्पिक शिक्षा कार्यक्रमलाई प्रयोगमा ल्याइने भनिएको छ । विद्यालय प्राथमिक स्वास्थ्यसेवा कार्यक्रम विस्तार गर्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको थालनी गरिने अध्यक्ष कुँवरले बताएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्