एजेन्सी, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बढी रहेको दाबी गर्दै आएका छन् । उनले नेपालीहरुको जीवनशैली र खानपानले रोग प्रतिरोधात्मक क्षमता बढी रहेकाले कोरोनालाई सजिलै जित्न सक्ने दाबी गरेका थिए । यतिसम्मकी उनले हाँच्छिउ गरेर नेपालीले कोरोना भगाउन सक्ने दाबी गरे । तर, एउटा रिसर्चले नेपालीसहित दक्षिण एशियाली नागरिक झन् कोरोनाको जोखिममा रहेको र संक्रमित भएमा उनीहरुको मृत्युको सम्भावना बढी हुने निष्कर्ष निकालेको छ ।
बेलायतको अस्पतालमा गरिएको रिसर्चले दक्षिण एशियाली मानिसहरुको कोरोना भाइरसबाट बढी अनुपातमा मृत्यु भइरहेको जनाएको हो । कोभिड १९ संक्रमित १० मध्ये ४ जनालाई नमुनाका रुपमा लिएर रिसर्च गरिएको थियो । बेलायतका २७ इन्स्टिच्युट र २६० अस्पताल अध्ययनमा सहभागी थिए । मेडिकल जर्नलमा प्रकाशित गर्नु अघि नै अनलाइनमा उक्त रिसर्चको निष्कर्ष प्रकाशित गरिएको थियो ।
रिसर्चबाट दक्षिण एशियाली पृष्ठभुमिका मानिसहरुलाई कोरोना संक्रमित भएमा अन्य पृष्ठभुमिका मानिसहरुलाईभन्दा २० प्रतिशतले मृत्युको अनुपात बढी रहने पत्ता लागेको छ । बीबीसीले प्राध्यापक इवेन हेरिसनको भनाई उदृत गर्दै दक्षिण एशियालीमा कोरोना सक्रमणको बढी प्रभाव देखिएको र अफ्रिकी मुलमा कम देखिएको जनाएका छन् । कोरोना संक्रमित भई अस्पताल लगिनु परेका मध्ये प्रत्येक हजारमा ३५० जनाको मृत्यु भएको अध्ययनले देखाएको छ ।
दक्षिण एशियाली मुलका संक्रमित मानिसहरु अन्य मुलकाभन्दा सरदर १२ वर्षले कम उमेरको रहेको, मोटोपन र फोक्सोको समस्या पनि कम रहेको तर बढी मात्रामा मधुमेहको विरामी रहेको देखिएको छ । मधुमेहको इन्फेक्सनको खतरा बढी रहेको, शरीरको अङ्गमा असर बढी हुने र कोरोना संक्रमितको जीवन रक्षामा असर पार्न सक्ने बताइएको छ । यसकारण पनि दक्षिण एशियाली मुलका मानिसहरु कोरोना संक्रमित भएमा मृत्यु दर बढी रहेको निष्कर्ष निकालिएको छ ।