Logo

गलकोटमा सभाहल शिलान्याश



काठमाडौँ, ६ असार । गलकोट नगरपालिका–७ मल्ममा ‘घुम्टे बहुउद्देश्यीय सभाहल’ बन्ने भएको छ । रु एक करोडको लागतमा बन्न लागेको सभाहलको शुक्रबार नगरपालिकाका उपप्रमुख रेणुका काउचाले शिलान्यास गरेका छन् ।

सो अवसरमा उपप्रमुख काउचाले सभाहल निर्माणमा नगरपालिकाले यथोचित सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । “सभाहल बनेपछि नगरकै गहनाका रुपमा रहन्छ, यो अत्यावश्यक पनि थियो”, उनले भने । एक सय ५० जना अट्ने क्षमताको सभाहल आगामी दुई वर्षभित्र बनाइसक्ने योजना रहेको निर्माण समितिका अध्यक्ष थम्मन थापाले बताएका छन् । सभाकक्षसहित कार्यालय, प्रतीक्षाकक्ष, अतिथिकक्ष, शौचालयलगायतका संरचना बन्ने उनको भनाइ छ । सभाहलका लागि गण्डकी प्रदेशको भौतिक मन्त्रालयले चालु आवमा रु १५ लाख बजेट विनियोजन गरेको थियो ।

यस्तै घुम्टे युवा परिवार जापान शाखाले रु छ लाख उपलब्ध गराएको अध्यक्ष थापाले जानकारी दिएका छन् । “तीनै तहका सरकारसहित अन्य सहयोगदाताबाट आर्थिक जुटाएर सभाहल निर्माणलाई पूर्णता दिन्छौँ”, अध्यक्ष थापाले भने, “नगरस्तरको सुविधायुक्त सभाहल बनाउने सपना साकार हुँदैछ ।” विसं २०७५ मा घुम्टे युवा परिवारले सभाहल निर्माणका लागि पहल अगाडि बढाएको थियो । सोही वर्षको फागुपूर्णिमा मेला एवं घुयुपको वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी भएका गण्डकी प्रदेशका भौतिकमन्त्री रामशरण बस्नेतसमक्ष बजेटका लागि मागपत्र बुझाइएको थियो । मन्त्री बस्नेतले आउँदो आवमा पनि बजेट छुट्टाउने आवश्वासन दिलाएको अध्यक्ष थापाको भनाइ छ । वडाध्यक्ष टीकाबहादुर थापाले पनि वडाको योजना र बजेटमा सभाहललाई समेट्ने बताएका छन् । सभाहल पछि वडाकै स्वामित्वमा रहने जनाइएको छ । सभाहल बने पनि सभा, गोष्ठी, सेमिनार गर्न सहज हुने वडाध्यक्ष थापाको भनाइ छ । अहिले व्यवस्थित सभाहल नहुँदा वडाका सानातिना कार्यक्रम गर्दा पनि स्थान अभाव हुने गरेको छ ।

सभाहल निर्माणका लागि वडासदस्य लोकबहादुर थापा, समाजसेवी हरिदत्त गौतम, राष्ट्रिय जनमोर्चा वडा समितिका अध्यक्ष दलबहादुर थापा, स्थानीयवासी भक्तबहादुर थापा, कमला थापा र प्रकाश थापाले झण्डै तीन रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । पछिल्लो समय स्थानीय तहहरुमा धमाधम सभाहल बन्दैछन् । सोही नगरपालिकाको वडा नं २ नरेठाँटीमा पनि रु ६५ लाख खर्चेर यसै वर्ष सभाहल बनाएको छ । उक्त सभाहलमा पनि १५० जना अट्ने क्षमता छ । सभाहल बनेपछि नगरस्तरका कार्यक्रम गर्न सहज बनेको छ । उक्त सभाहल निर्माण नगरपालिकाको गौरवको योजनामा थियो । रासस



प्रतिक्रिया दिनुहोस्