Logo

चीनमा लागु भएका कुरा नेपालमा त्यही लागु हुन्छ भन्ने हुँदैन- युवराज ज्ञवाली, नेता, नेकपा



काठमाडौं, ६ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य युवराज ज्ञवालीले एमसीसीको टुंगो पार्टीले गर्ने बताएका छन् । पार्टीको निर्णय नै निर्णायक हुने उनको भनाई छ । ज्ञवालीले कम्युनिस्ट पार्टी भएकाले चिनियाँ कम्युनिस्ट पार्टीसँग सुमधुर सम्बन्ध रहेको र विचार पनि मिल्ने बताएका छन् । नेता ज्ञवालीसँग यसै सेरोफेरोमा ऋषि धमलाले गरेको कुराकानीः
स्वास्थ्य सामाग्री दरिमा व्यापक भ्रष्टाचार भएको कुरा बाहिर आयो, मूल्यमा निकै अन्तर देखियो नि ?
त्यसको लागि छानविन गर्नुपर्यो । यस्ता भ्रष्टाचारीलाई छानविन गर्ने सरकारका विभिन्न निकायहरु छन् ।
जताततै भ्रष्टाचार भइरहेको छ, त्यसको छानविन भएको छैन, तपाईंहरु पनि मुकदर्शक भएर हेरिरहनुभएको छ किन ?
तुरुन्त छानविन हुनुपर्छ । त्यसका लागि राज्यका विभिन्न निकायहरु छन् । भ्रष्टाचारका कुराहरु बारम्बार उठिरहेका छन् । त्यसको लागि छानविन गरेर रिपोर्टहरु बाहिर ल्याउनुपर्यो । दोषीमाथि कारबाही हुनुपर्यो । अब कति सत्य हो, कति होइन । यसै हो भन्न सक्ने अवस्था छैन ।
उपलब्ध मूल्य सूचिअनुसार नेपाली बजारको मूख्य हेर्ने हो भने एक अर्बभन्दा बढी रकम तलमाथि देखिन्छ नि ?
यो पत्रपत्रिकाहरुमा आइरहेको छ । के हो कुरा त्यो त छानविन छिटो हुनुपर्यो नि ।
यसबारेमा पार्टीले छलफल गर्न बोलाउँछ बोलाउँदैन ?
कसैको विषयमा छानविन गरेर प्रमाणित नगरिकन यो भ्रष्टाचार नै हो भने किटानी गर्ने अवस्था पनि छैन । कारोबार भइसकेपछि भ्रष्टाचार हुँदैहुँदैन भन्ने अवस्था पनि हुँदैन । त्यसैले छिटोभन्दा छिटो छानविन हुनुपर्यो । फेरि यस्तो कुराहरुलाई बाहिर आउने गरी विवादमा राख्नुभएन । प्रष्ट पार्नुपर्यो भ्रष्टाचार हो भने दोषीमाथि कारबाही गर्नुपर्यो होइन भने सफाई दिनुपर्यो ।
ओम्नीले भन्दा सेनाले खरिद गरेको सामाग्रीमा पनि दुई तिहाई अन्तर देखियो नि ?
जुन–जुन व्यक्ति, संस्थामाथि प्रश्न उठेको छ । तिनीहरुमा छिटोभन्दा छिटो छानविन हुनुपर्छ ।
नेपाली सेनालाई पनि छानिवन गर्न तयार छौं ?
अनियमितता गरेको कुरा उठेपछि जसलाई पनि छानविन हुन्छ नि । छाविनका पनि आफ्नै प्रक्रिया, विधिहरु छन् । संविधान, नियम, कानुनहरुका आ–आफ्ना विधिहरु छन् । त्यहीअनुसार सबैलाई छानविन गर्नुपर्यो ।
तपाईंहरुले स्थायी समिति बैठकको एजेन्डा के के तयार गर्नुभएको छ ?
अहिलेसम्म कुनै एजेन्डाहरु दिइएको छैन । अब १० गते ११ बजे बालुवाटारमा स्थायी समितिको बैठक बस्ने खबर हामीलाई म्यासेजमार्फत आएको छ । त्योभन्दा त्यो बैठकमा के एजेन्डा हुन्छ त्यो आएको छैन ।
तपाईंहरुको चाहीं एजेन्डा के हुन्छ, गृहकार्यमा हुनुहुन्छ होला नि ?
हामीहरु कुनै गृहकार्यमा छैनौं । तर, हामीहरुलाई एजेन्डा के हुनुपर्छ भन्ने कुरा सबै स्थायी समितिमा हुने सदस्यहरुलाई थाहा छ । र, मलाई के एजेन्डा राख्दा उपयुक्त हुन्छ त्यो थाहा छ । त्यसैले पार्टीले कस्तो एजेन्डा लिएर आउँछ र आवश्यक पर्यो भने बैठकमै हामी एजेन्डा थप्न सक्छौं ।
त्यसोभए तपाईंहरुले पनि एजेन्डा थप्न सक्नुहुन्छ ?
सकिन्छ । त्यो प्रस्ट रुपमा स्थायी कमिटिको बैठकले एजेन्डा थप्ने, घटाउने हरेक गर्न सक्छ ।
एमसीसीको बारेमा पार्टीभित्र सहमति जुट्छ कि जुट्दैन ?
अब एमसीसीलगायत विभिन्न विषयमा छलफल हुन्छ । खाली एमसीसी मात्रै होइन कि यो बीचमा धेरै कामहरु भइरहेका छन्, विषयहरु पनि उठिरहेका छन् । धेरै लामो समय भयो स्थायी कमिटीको बैठक नभएको । स्थायी कमिटि बैठकको माग भएको पनि धेरै भइसक्यो । त्यसकारण एमसीसीलगायत विभिन्न छलफल हुन्छन्, छलफल मात्रै होइन स्थायी कमिटिले त्यसमा निर्णय नै गर्छ ।
के के निर्णय गर्न सक्छ ?
स्थायी कमिटि भनेको खाली सुझाव सल्लाह दिने यसो बोल्ने भाषण, भुषण गर्ने ठाउँ मात्रै होइन । प्रष्ट रुपमा खुलस्त आफ्ना कुरा राख्ने र अन्तिममा निर्णय गर्ने । त्यो निर्णय पार्टीका सबै नेता, कार्यकर्ताहरुले पालना गर्नुपर्ने । आश्यक परे फेरि स्थायीले केन्द्रीय कमिटि बैठकको मिति तय गर्न सक्छ । र, अन्तिममा केन्द्रीय कमिटिले निर्णय गर्दछ । पार्टीको सर्वोच्च निकाय भनेको केन्द्रीय कमिटि हो । त्यो केन्द्रीय कमिटिले निर्णय सबै नेता, कार्यकर्ताहरुले स्वीकारेर अगाडि बढ्नुपर्छ ।
त्यसको लागि तपाईंंको पार्टीमा सबै सहमत हुनुपर्यो नि प्रधानमन्त्रीले त एमसीसी पारित हुन्छ भन्नुभएको छ नि ?
सहमति भयो भने सहमतिबाट हुन्छ । भएन भने अल्पमत, बहुमत हुन्छ । लोकतन्त्रको नियम हो यो । एकजना असहमति राख्दा पनि असहमति नै भयो नि । त्यसकारण धेरै जसो विषयमा सहमति भएर जान्छ । कतिपय यस्ता विषय हुन्छन्, सहमति नहुन सक्छ । त्यस्तो अवस्थामा फरक मत राख्नेले आफ्नो मत राख्ने कुरा हुन्छ ।
तपाईंहरुले एमसीसीमा फरक मत राख्नुहोला तर प्रधानमन्त्रीले पारित गराउँछु भन्नुभएको छ, सचिवालय र केन्द्रीय समितिमा पनि एमसीसीको पक्षमा बहुमत छ नि ?
त्यो अब बैठक बसेर त्यसबारेमा छलफल भएपछि थाहा हुन्छ । त्यसलाई बैठकले नै निर्णय गरेर टुंगो लगाउने हो । आफ्ना मतहरु, आफ्ना–आफ्ना विचारहरु हुन सक्छन् ।
एमसीसीको विषयमा पार्टीभित्र ठूलै बहस चलिरहेको छ नि ?
एमसीसीको विषयमा एकदम बहस त गम्भीर रुपमा चलिरहेको छ । गएका दुईवटा स्थायी कमिटिका बैठकमा एमसीसीको बारेमा छलफल भयो । केन्द्रीय कमिटिमा छलफल भयो । त्यसले एउटा कार्यदल बनायो । त्यसले पनि एउटा रिपोर्ट दिइसकेको छ । त्यो रिपोर्टलाई हामीले अध्ययन गरिरहेका छौं । कार्यदलको रिपोर्टलाई पनि हामीले आधार बनाउनुपर्ने हुन्छ । त्यसको आधारमा हामीले पास गर्ने कि नगर्ने भन्ने टुंगोमा पुग्दैछौं । हाम्रा आफ्ना–आफ्ना विचारहरु छन् ।
यसमा पार्टीको आधिकारिक धारणा के हो ?
बैठकले निर्णय गरेपछि पार्टीको आधिकारिक धारणा आउँछ नि ।
प्रधानमन्त्रीले उठाएको कुरालाई तपाईहरुले आधिकारिक धारणा नमान्ने ?
हामी सबै नेता÷कर्ताहरु जोसुकै भएपनि कमिटिको मातहतमा छौं । कमिटि आधिकारिक र निर्णायक हो ।
एमसीसी देश, जनता र विकास समृद्धिको आवश्यक छ नि होइन ?
आवश्यक छ भने कमिटीले निर्णय गर्छ नि पास गर्ने कि नगर्ने भनेर । विकास र समृद्धिका लागि विदेशको सहयोग हामीले लिनैपर्ने हो । तर, त्यसका सर्तहरु के के त्यो त हेर्नुपर्यो नि । सहयोग लिने नाममा जस्तोसुकै सर्तहरु स्वीकार गर्ने कुराहरु हुँदैन । यदि हाम्रो राष्ट्रियता माथि आँच आउने खालका विषय छन् भने त्यसलाई हटाउनुपर्ने हुन्छ । सम्बन्धित मान्छेहरुसँग बसेर यी यी कुरा हामीलाई मान्य छैन भनेर खुलस्त रुपमा कुरा गर्नुपर्छ । सहयोग पाइयो भन्दैमा जस्तो लिने भन्ने हुँदैन । हाम्रो आवश्यकतालाई हेरेर हामी लिन पनि सक्छ र नलिन पनि सक्छौं । त्यो हाम्रो अधिकारको कुरा हो ।
तपाईंले एमसीसी राम्रोसँग पढ्नुभएको छ ?
पढिराछु, सबैले पढिरहेका छन्, कसले पढेको छैन ?
प्रधानमन्त्रीले नपढी, नबुझी बोलिरहेका छन् भन्नुभयो नि ?
उहाँलाई लागेको होला मैले पढेको मात्रै पढेको हुने अरु पढेको नपढेको हुने भनेर । पार्टीका सबै नेताहरुले पढेर नोट तयार गरेर बसेका छन् ।
तर, प्रधानमन्त्रीको तर्क आयो नि तपाईंहरुले एमसीसीको विरोध गरिरहँदा आधार दिनुस् भनेर ?
अब उहाँको के तर्क आयो । सबैको आफ्नो आफ्नो तर्क छ नि । मेरो आफ्नो तर्क छ । अरुको अर्कै होला । मैले बुझेको छु । अर्काले चाहीं बुझेन भनेर हुन्छ ।
नेकपाको सरकार चीनतिर नजिकिन थाल्यो नि ?
संसारका हरेक देशसित हाम्रो निकटता छ । भारतसित हाम्रो खुला सीमाना छ । अब अहिले सीमाविवादले भारतसित समस्या परिरहेको छ । भनेपछि जे विषयमा विवाद आउँछ त्यहाँ विवाद हुन्छ । छलफल हुन्छ । छलफल र कुराकानीबाट निस्कर्षमा पुगिन्छ । होइन भने हाम्रो सबैसित मित्रताको सम्बन्ध छ । हामी कसैसँग एकदमै नजिक कसैसँग टाढा हुँदैनौं । असंलग्न परराष्ट्र नीतिसँग प्रतिबद्ध छौं । त्यसै अनुसार हाम्रा आचारण, व्यवहारहरु रहन्छन् रहनुपर्छ ।
भारतसँग सम्बन्ध चिसिएको छ, अमेरिकासँग पनि एमसीसीको कारणले असन्तुष्टि जनाइरहेको छ, यो अवस्थामा नेकपा र चिनीया कम्युनिस्ट पार्टीबीच भीडियो वार्ता भयो नि ?
विभिन्न पार्टीका नेताहरुसँग बेलाबखत चाहे भारतका, चाहे नीचनकाहरुसँग छलफल, बहस, वार्ता, विचारको आदानप्रदान संसारमा हिजो पनि हुँदै आएको छ । त्यही सन्दर्भमा चीनको कम्युनिस्ष्ट पार्टीसँग बेला मौका धेरै पहिलादेखि हुँदै आइरहेको छ । कुनै नयाँ, अचम्मको कुरा केही होइन । अब ऊ पनि कम्युनिस्ट पार्टी र हामी पनि कम्युनिस्ट पार्टीको हुनाले कतिपय विचारमा समानता छ । तर, पनि हाम्रा आफ्नै परिवेश, परिस्थिति र हाम्रा आफ्नै विशेषता छ । चीनमा लागु भएका कुरा नेपालमा त्यही लागु हुन्छ भन्ने हुँदैन । कुनै देशका पार्टी, नेताहरुको आदेश, निर्देशमा काम गर्ने होइन । चीनको कम्युनिस्ट पार्टीले पनि आफ्नै ढंगले काम गरिरहेका हुन्छ । हामीले पनि आफ्नै ढंगले काम गरिरहे्का हुन्छौं । वार्ता, छलफल संसारका जुनसुकै मुलुकका नेताहरुसँग हुँदै आएका छन् त्यसलाई अन्यथा लिन मिल्दैन ।
अहिले भारतसँग चीसोपन बढिरहेका छ, अब प्रधानमन्त्रीले वार्ता गरेर जमिन फिर्ता ल्याउन सक्नुहोला ?
ल्याउनुपर्छ । वार्ताबाटै यो समस्या समाधान गर्नुपर्छ । भारत अहिलेसम्म वार्ता बस्न तयार भइरहेको छैन । यसमा नेपाल सरकारको मात्रै कुरा भएन । यो सिंगो राष्ट्रियको सीमानाको विषयमा विवाद परेको छ । विगतमा पनि नाकाबन्दीको विषयमा विवाद पर्यो । सबै कुरामा विवादैविवाद छ भन्ने पनि होइन । तर, सीमाको सन्दर्भमा गम्भीर समस्या आइपरेको छ । यसलाई हामीले वार्ताबाट समाधान गर्ने प्रयास गर्नुपर्छ ।
अहिलेको सरकारले जनताले अनुभूति गर्ने गरी काम गरेको छैन नि ?
सरकारले कस्तो काम गरेको छ भनेर मैले भन्दा पनि जनताले भन्ने कुरा हो । सन्तुष्टि, असन्तुष्टिहरु छन् । सरकारले काम गर्ने भनेको जनताको लागि हो । जनताले नै चुनेर पठाएको हो । त्यसैले सरकारको मूल्यांकन गर्ने आधिकारिक व्यक्ति भनेको नेपाली जनता हुन् । जनताले राम्रो मानेका छन् हामीलाई पनि राम्रो हुन्छ । जनताले कमीकमजोरी देखेका छन् भने हामी नेताले पनि स्वीकार गर्नुपर्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्