Logo

नेकपाको चिनियाँ कम्युनिस्ट पार्टीसँगको छलफलमा नेपाल र खनाल पक्ष किन गएनन्



काठमाडौं, ६ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र चिनियाँ कम्युनिस्ट पार्टीसँगको भिडियो कन्फरेन्समार्फत् भएको छलफलले नयाँ विवाद सतहमा ल्याएको छ । बैठकमा नेकपाको एउटा पक्ष सहभागी नभएपछि विवाद बाहिर आएको हो ।

हिजो भएको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समुह सहभागी भएनन् । अध्यक्ष पुष्पकमल दाहाल आफै सहभागी थिए । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभएपनि उनी पक्षका नेताहरु सहभागी थिए । सचिवालय सदस्य ईश्वर पोखरे पनि बैठकमा सहभागी थिए ।

नेपाल र खनाल पक्षले चिनियाँ कम्युनिस्ट पार्टीसँगको छलफल कार्यक्रम उपयुक्त समयमा नभएको बताएको छ । भारतसँग सिमा विवाद भइरहेको र भारतको चीनसँग टकराव बढिरहेको समयमा यस्तो बैठक गर्न नहुने भन्दै खनाल र नेपाल पक्षले असन्तुष्टि व्यक्त गरेको बुझिएको छ ।

यसैगरी, भारतीय पत्रिका द इन्डियन एक्सप्रेसले नेपाल कम्युनिस्ट पार्टीभित्र हिजो चिनियाँ कम्युनिस्ट पार्टीसँग भएको छलफलका विषयमा उत्पन्न विवादबारे समाचार प्रकाशित गरेको छ । वरिष्ठ पत्रकार युवराज घिमिरेको बाइलाइनमा प्रकशित समाचारमा भारत र चीनबीच झडप भएको अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीसँगको बढ्दो निकटाबारे विवाद भएको उल्लेख छ ।

हुनपछि यतिबेला भारत चीन युद्धको कालो बादल मडारिएको छ । दुई देशका सैनिकबीच झडप भइसकेको छ । जसमा भारततर्फ २० जनाको मृत्यु भएको छ । चिनियाँ पक्षले हताहती गोप्य नै राखेको छ । अहिले भारत चीन सिमामा धमाधम सैन्य उपस्थिति बढेको छ । दुवै देशले स्थल, वायु र जल सेनालाई तयारी अवस्थामा राखेका छन् । नेपालसँगको पूर्व र पश्चिमको त्रिदेशीय सिमा नजिकसम्म दुवै देशको सैनिक थपिएका छन् । उत्तर र दक्षिणबाट सैनिक थपिदा नेपाल पनि घेराबन्दीमा जस्तै परेको छ । किनभने नेपाल तीनतर्फ भारतबाट र एकतर्फ चीनले घेरिएको छ ।

कुनैपनि बेला सम्भावित युद्धलाई दृष्टिगत गरी युद्धक विमानहरु पनि लदाख, अरुणाञ्चल, सिक्किम, हिमाञ्चल र उत्तराखण्डको सिमामा वारीपारी बढेका छन् । यसरी कुनैपनि बेला खतरनाक युद्ध हुनसक्ने खतरा छ । अहिले भारत र चीन युद्धको खतरालाई दृष्टिगत गरी सिमामा सैनिक गतिविधि बढाइरहँदा नेपालमा भने चीनको चासो र गतिविधि बढेको बढ्यै छ । यही बेलामा नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच छलफल कार्यक्रम हुनु अर्थपूर्ण छ । यो घटनाप्रति भारतको गम्भीर चासो अप्रत्यक्ष रुपमा अव्यक्त भएको छ । जसलाई भारतीय मिडियाले प्राथमिकताका साथ उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्