Logo

रुकुम (पश्चिम)मा कोरोनाको पहिलो संक्रमण



रुकुमपश्चिम, ६ असार : रुकुम(पश्चिम)मा पहिलो पटक एक जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा मुसीकोट नगरपालिका –१२ का ३३ वर्षीय पुरुषमा आज कोरोना संक्रमण देखिएको हो ।

मुसीकोटबाट गत जेठ २४ गते २४४ जनाको स्वाब पठाइएकामा २० जनाको रिपोर्ट आएको र तिनमा एक जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय रुकुम(पश्चिम)का कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिनुभयो ।
उनी भारतको महाराष्ट्र राज्यबाट आएका हुन् । गत जेठ दोस्रो साता जिल्ला आएका उनलाई वडा नं १३ को चौतारामा अवस्थित महेन्द्र माविमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा बसेको एक सातापछि स्वाब संकलनपछि उनलाई क्वारेन्टिनमा बसेको १९ दिनपछि घर पठाइएको थियो ।

गत जेठ ३० गते घर गएका उनी परिवारका अन्य सदस्यसँग नभेटी छुट्टै होम क्वारेन्टाइनमा बसेको मुसीकोट –१२ का वडाध्यक्ष प्रेम ओलीले बताउनुभयो । घर पठाइएको एक सातापछि र स्वाब संकलन गरिएको १४ दिनपछि रिपोर्ट आएको हो । कोरोना पोजेटिभ देखिएपछि उनलाई आइसोलेशनमा राखिएको छ ।

उनमा अहिलेसम्म कोरोनाको कुनै लक्षण नदेखिएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काको भनाइ छ । लक्षण नदेखिएकाले उनलाई वडा नं १ स्थित मुसीकोट खलंगा बहुमुखी क्याम्पसको आइसोलेशनमा राखिएको छ । यसैबीच उनका परिवारका सदस्यको समेत स्वाब संकलन गरेर परीक्षणका लागि सुर्खेत पठाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो ।

यसअघि जिल्लाका एक व्यक्तिमा बाँकेमा उपचारका क्रममा कोरोना पुष्टि भए पनि जिल्लाबाट संकलन गरेर पठाइएका कुनै पनि स्वाबको रिपोर्ट पोजेटिभ आएको थिएन ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्