असार ८, काठमाण्डौ । मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे फरक फरक बुझाई हुँदा सत्तारुढ दल नेकपा निकै सकसमा परेको छ । एमसीसी नेपालको हितमा छ भनेर कार्यान्वयनमा लैजानुपर्ने प्रधानमन्त्री केपी ओलीको अडानलाई चुनौति दिदै नेकपाकै नेताहरु विरोध गरिरहेका छन् । पार्टीभित्र सहमति जुटाउने प्रयासस्वरुप असार १० गते स्थायी कमिटि बैठक बोलाइएको छ ।
सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नपढेर नै विरोध भइरहेको आरोप संसदबाटै लगाइसकेका छन् । र यो आरोप अरुलाई नभै आफ्नै दलका वरिष्ठ नेता झलनाथ खनाल, मुख्य सचेतक देव गुरुङ र स्थायी कमिटि सदस्य भीम रावललगायतलाई लक्षित थियो ।
खनाल, गुरुङ र रावलले एमसीसी नेपालको हितमा नभएकाले कार्यान्वयनमा लैजान नहुने मत राखिरहेका छन् । उनीहरुले नै संसदबाट अनुमोदन गराउन रोकिरहेका छन् । विरोधीहरुले पार्टीभित्र निर्णय गराएर मात्रै संसदीय प्रक्रियामा लैजानुपर्ने भनिरहँदा प्रधानमन्त्री ओली भने अब जे गर्छ संसदले गर्छ भन्ने मानसिकतामा पुगेको बताइएको छ । किनकी संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि ओलीलाई साथ दिने बताईसकेको छ ।
तर पार्टीभित्र तीब्र विरोध भएपछि आगामी असार १० गते एमसीसीकै विषयमा छलफल गर्न स्थायी कमिटि बैठक बोलाइएको छ । अधिकांश स्थायी कमिटि सदस्यहरु खनाल नेतृत्वको एमसीसी कार्यदलले दिएको सुझाब बमोजिम संशोधन गरेर मात्रै एमसीसी संसदबाट अनुमोदन गराउने पक्षमा छन् ।
विगत १ बर्ष देखि नेकपा भित्र एमसीसीको विवाद निकै पेचिलो बन्दै गएको छ । यसअघि ठूला–ठूला निर्णय सचिवालयबाटै गर्दै आएको नेकपाले एमसीसीबारे निर्णय गर्न किन स्थायी कमिटी बोलायो ? यो आफैंमा एउटा प्रश्न पनि हो ।
नेकपा स्थायी कमिटीमा गुटको आधारमा एमसीसीमाथि छलफल भयो भने ओली पक्ष अल्पमतमा पर्नेछ र एमसीसी पारित गर्नु हुँदैन भन्ने पक्ष अत्याधिक बहुमतमा रहने छ । यस्तो अवस्थामा ओलीले संसदीय प्रक्रियामा लैजाने आँट गरेको खण्डमा भने कांग्रेसको समर्थनमा अनुमोदन हुने देखिन्छ ।