काठमाडौँ, ९ असार । सरकारले लकडाउन गरेपनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम यसै साता सकिने भएको छ ।
राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत लकडाउनको समयमा उल्लेख्य प्रगति मात्रै भएन सम्पन्न नै हुने चरणमा पुगेको छ । आयोजनाका प्रवक्ता डा।गणेश न्यौपानेका अनुसार कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये २२।५ मिटर मात्रै बाँकी छ । गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो । वर्षदिनमा जटिल काम सम्पन्न हुन लागेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।
कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान सम्पन्न भएको छ । पाइप जडानको काम सकिएपछि अष्ट्रियन कम्पनीले थप कामका लागि भारतीय कम्पनीलाई जिम्मा लगाउँछ । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लाग्ने भएकाले आगामी शुक्रबारसम्म ठाडो सुरुङमा पाइप जडानको काम सकिनेछ ।
तल्लो ठाडो सुरुङको काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले गरेको हो । कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले लकडाउनको समयमा आफूलाई अब्बल सावित गरेको छ । प्राप्त विवरणअनुसार कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये हालसम्म २८७।५ मिटरमा पाइप जडानको काम भइसकेको छ । प्रवक्ता न्यौपानेका अनुसार अब बाँकी २२।५ मिटर मध्ये २० मिटर शुक्रबारसम्म काम सम्पन्न गरिनेछ । बाँकी रहने २।५ मिटर भने तेर्सो पाइपमा जोड्नुपर्ने भएकाले जडानका लागि थप केही समय लाग्नेछ ।
“सम्पन्न भएको स्थानमा कङ्क्रिट गर्ने काम बाँकी छ, ती काम सँगसँगै अगाडि बढ्छ । एउटा सकारात्मक अवस्थामा हामी पुगेका छाँै । लकडाउनको समयमा सहज रुपमा काम हुनु आफैमा खुसीको विषय बनेको छ”, प्रवक्ता न्यौपानेले भन्नुभयो । माथिल्लो र तल्लो ठाडो सुरुङको बीचको १०० मिटर लामो सुरुङमा पाइपनै जडान गरिने भएकाले असजिलो काम सकिएपछि निर्माण व्यवसायी सो कामका लागि परिचालित हुनेछ । चालू आव सकिने दिनसम्म आयोजनाको काममा उल्लेख्य प्रगति हासिल हुने विश्वास लिइएको छ । गोरखापत्रबाट