काठमाडौं, ९ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठक भोलि बुधबार विहानबाट बस्नेछ । यसपटकको बैठक निकै महत्वपूर्ण छ । बैठकले लामो समयदेखि नेकपामा विवादको विषय बनेको अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे निर्णय लिने अपेक्षा गरिएको छ ।
दुई अध्यक्ष र सचिवालयले समेत एमसीसीको टुंगो लगाउन सकेनन् । नसकेपछि स्थायी कमिटि बैठकमा प्रस्तावबारे छलफल गर्न लागिएको हो । बैठक अगावै आज ओली र दाहालबीच भेटवार्ता भएको छ । आज भएको भेटमा बैठकको एजेन्डा र पूर्वतयारीबारे छलफल भएको बुझिएको छ । विषेशगरी एमसीसीबारे कुराकानी भएको विश्वस्त स्रोतले बताएको छ ।
१५ असारभित्र एमसीसी पारित गरिसक्नुपर्ने भएकाले अब वार कि पार हुने निश्चित छ । एमसीसीलाई नेकपाभित्रको शक्ति संघर्षको अस्त्र बनाइएकाले स्थायी कमिटिमा चर्को बहस हुने आँकलन गरिएको छ ।
एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा सचिवालयभित्र प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेका छन् । उनको पक्षमा सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलमात्र देखिएका छन् । एमसीसीको विपक्षमा रहेका रामबहादुर थापा बादल मौन छन् ।
ओलीको विपक्षमा नेकपाका हेभिवेटहरु छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एमसीसी पारित गर्न नहुने पक्षमा छन् । यी पाँचजना एकजुट भएमा ओली स्थायी र केन्द्रीय कमिटिमा अल्पमतमा पर्न सक्छ । तर, संसदमा ओलीको बहुमत दाबी छ । त्यसैले उनी एमसीसीको टुंगो संसदीय दलबाट लगाएर जाने पक्षमा समेत छन् ।
ओलीले पार्टी निर्णय अवज्ञा गरे कडा कदम चाल्ने सम्मको तयारी ओली इतर समुहको छ । त्यस्तो अवस्थामा नेकपाभित्र ठुलै विवाद हुनसक्छ । कतिपयले एमसीसीको विषयले नेकपाभित्र दुर्घटना हुनसक्ने सम्मको आँकलन गर्न थालेका छन् ।
नेकपाभित्र पछिल्लो समय चिनियाँ प्रभाव बढिरहँदा एमसीसी रोक्न चीन समेत सक्रिय भएको विश्लेषण भइरहेको छ । चीनले अमेरिकाले आफूलाई घेर्न खोजेका र त्यसका लागि इन्डो प्यासिफिक नामको सैन्य रणनीति बढाएको बताउँदै आएको छ । एमसीसीलाई पनि सैन्य रणनीतिसँग जोडेर कतिपय नेकपा नेताहरुले प्रश्न उठाइरहेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।-File Photo