Logo

‘हट स्पट’भन्दा क्वारेन्टाइन डरमर्दो



काठमाडौं, असार १० । गत चैत ११ गते मुलुकभर लकडाउन घोषणा भएको दुई महिनासम्म सातवटा प्रदेश मध्ये कर्णालीमा संक्रमण शून्य थियो। गत जेठ ५ गते पहिलो संक्रमित दैलेखमा फेला परेका थिए। मुलुकभर कोराना संक्रमितको संख्या १० हजार नाघेको छ। जसमध्ये कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार ३ सय ७ मा पुगेको छ। यस प्रदेशको दैलेख, सुर्खेत, सल्यान, कालिकोट लगायतका जिल्लामा संक्रमण बढी देखिएको छ। कर्णाली प्रदेशमा मात्रै मृत्यु हुनेको संख्या ५ पुगेको छ।

पछिल्लो समय भारतबाट आउने व्यक्तिहरुको संख्या सुदूरपश्चिमतर्फ बढेकोले त्यसक्षेत्रमा संक्रमित बढेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा। शेरबहादुर पुनको ठहर छ। लकडाउनको सुरुका चरणमा उदयपुरको भुल्के, बाँकेको नेपालगन्ज र नरैनापुर लगायतका स्थान हट स्पटका रुपमा चिनिएका थिए। ‘अहिले अन्य नाकाबाट नेपाल प्रवेश गर्नेहरुको संख्या बढेको र ती स्थानहरुमा प्राथमिकताका साथ परीक्षण पनि भइरहेका कारण बढी संक्रमित देखिएका हुन्’, डा। पुनले भने।

बाँकेमा हालसम्म ३ सय ४१ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये २ जनाको ज्यान गएको थियो। संक्रमितमध्ये २ सय ६० जना डिस्चार्ज भएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। मुलुकमा रहेका कुल संक्रमितमध्ये ९१ प्रतिशत पुरुष र ९ प्रतिशत महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्