काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकटमा परेको छ । पार्टीभित्र र बाहिर उनी घेराबन्दीमा परेको निष्कर्ष उनकै निकटस्थले गरेका छन् । अब यसलाई तोड्न उनले अन्तिम अस्त्र प्रयोग गर्ने तयारी गरेका छन् ।
ओलीले अब वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउन खोजेका छन् । उनले नेपाललाई अध्यक्ष दिएर भएपनि सत्ता टिकाउने तयारी गरेको बुझिएको छ । उनको प्रस्तावसहित निकटस्थले माधवकुमार नेपाललाई सम्पर्क गरिसकेका छन् । तर, नेपाल पक्ष यो प्रस्तावमा तयार नभएको बुझिएको छ ।
माधव नेपाल आफै प्रधानमन्त्री बन्ने तयारीमा छन् । उनले त्यसको ग्रिन सिग्नल समेत पाइसकेका छन् । तैपनि, माधव नेपाललाई मनाएर भएपनि एमसीसीबारे पार्टीमा निर्णय गराउने ओलीको तयारी भइरहेको छ ।
ओलीलाई हटाउन प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमको बलियो एकता भइसकेको छ । त्यसमा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि संलग्न छन् । रामबहादुर थापा बादल सरकारमा रहेकाले खुलेका छैनन् । अब सचिवालयका पाँच सदस्य दरिलो रुपमा अडिए ओलीका लागि सत्ता टिकाउन कठिन हुने देखिएको छ । तर, त्यो घेरा तोडेर जान ओलीले हिम्मत गरिरहेका छन् ।
ओलीसँग माधवकुमार नेपाललाई मनाउने नभए कठोर निर्णय लिनेसम्मको तयारी रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । त्यस्तो अवस्थामा नेकपा र देशमै ठुलै दुर्घटना सम्म हुनसक्छ ।
यसैगरी, हिजो बालुवाटार पुगेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई सरकारबाट ब्याक हुन भनेका थिए । उनले उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेलकै सामुन्ने राजीनामा मागेका थिए । हिजोको बालुवाटार बैठकपछि ओली पक्षले नयाँ रणनीतिसहित अभ्यास शुरु गरेको थियो ।-File Photo