Logo

दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित



१० असार : विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन् ।

देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारी अनुसार देशभरी कुल तीन हजार ५८३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । तीमध्ये ३४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

“आफ्नै मृत्यु हुनेबेलासम्म पनि स्वास्थ्य सेवा गर्नु भएका र सेवा गर्ने क्रममा सङ्क्रमित भएर मृत्यु भएका सबै स्वास्थ्यकर्मीहरुको आत्माको शान्तिको कामना गर्दछु,” उहाँले भन्नुभयो ।

इस्टर्न केप प्रान्तको उइतेन्हामा निर्माण गरिएको तीन हजार तीन सय शैयाको पहिलो चरणको फिल्ड अस्पतालको शुभारम्भ गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो ।

सङ्क्रमित भएका स्वास्थ्यकर्मीमध्ये एक हजार ९९३ जना भने सङ्क्रमणमुक्त भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

दक्षिण अफ्रिकामा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको पनि स्वास्थ्य मन्त्रीले जानकारी दिनुभयो ।

पछिल्लो विवरण अनुसार देशभरी एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने एक हजार ९९१ जनाको मृत्यु भएको छ ।

सङ्क्रमित हुने र मृत्यु हुनेहरुको संख्या बढ्दै गइरहेकाले सङ्क्रमितको उपचारमा अझ धेरै स्वास्थ्यकर्मीहरुको आवश्यकता रहेको स्वास्थ्य मन्त्रीको भनाई छ ।

आवश्यकता पूर्तिका लागि सरकारले नयाँ स्वास्थ्यकर्मीलाई सरकारी सेवामा लगाउने प्रयास एकातर्फ गरिरहेका छ भने अर्कोतर्फ हालै अवकासप्राप्त स्वास्थ्यकर्मीलाई पनि सेवामा सहभागी हुन आह्वान गरेको छ ।

त्यसैगरी अन्य स्वास्थ्यकर्मीहरुलाई पनि कोरोनाविरुद्धको लडाईमा आआफ्नो तरिकाले लाग्न पनि सरकारले आग्रह गरेको छ ।

उनीहरुलाई काममा फर्काउन आवश्यक आधारभूत तालिम, सुरक्षा र प्रतिरक्षाको व्यवस्था सरकारले गरिदिने आश्वासन पनि स्वास्थ्य मन्त्री एमखीजाले दिनुभएको छ ।सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्