Logo

राष्ट्रिय मुद्दाहरूमा एकजुट हुन आग्रह



काठमाडौँ, ११ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय मुद्दाहरूमा राजनीतिक दलहरूलाई एकजुट हुन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले भौगोलिक अखण्डताका लागि दलहरूबीच अभूतपूर्व एकता देखिएकोमा सरकार तथा राजनीतिक दलका शीर्ष नेताहरूलाई धन्यवादसमेत दिनुभएको छ ।

राष्ट्रपतिले सरकार प्रमुख तथा राजनीतिक दलका शीर्ष नेताहरूलाई बुधबार साँझ राष्ट्रपति निवास शीतलमा बोलाउनु भई समसामयिक विषयमा छलफल गर्ने क्रममा यस्तो धारणा राख्नुभएको हो ।
राष्ट्रपतिले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नयाँ नक्सामा समावेश गरी संविधानमा निशान छाप कायम गर्न संविधान संशोधन गर्न दलहरूबीच देखा परेको अभूतपूर्व राष्ट्रिय एकताप्रति आफू ज्यादै खुशी भएको भन्दै सबैलाई धन्यवाद दिनुभयो ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीविरुद्धको प्रतिकार्यमा राष्ट्रिय एकता प्रदर्शित हुँदै आएकोमा खुसी व्यक्त गर्नुभयो । यसविरुद्धको अभियानमा अग्रपङ्क्तिमा रहेर काम गर्ने डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई धन्यवाद व्यक्त गर्नुहुँदै उहाँले कोरोना प्रभावित बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
यसैगरी, राष्ट्रपतिले वातावरण विनाशप्रति चिन्ता व्यक्त गर्नुहुँदै नदी प्रणाली र अन्य प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै पर्यावरण सन्तुलनका लागि प्रभावकारी कार्य गर्न जोड दिनुभयो ।

साथै उहाँले यी कार्यमा पनि राजनीतिक दलहरूबीच एकता कायम हुनुपर्नेमा विश्वास राष्ट्रपतिले लिनुभएको जानकारी उहाँका प्रमुख निजी सचिव डा। भेषराज अधिकारीले दिनुभयो ।
राष्ट्रपति भण्डारीले राष्ट्रका ज्वलन्त विषयमा दलहरूबीच हुने सहकार्य र एकताले मुलुकको आर्थिक विकासका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले दिनुभयो ।

राष्ट्रपति भण्डारीले कोरोना महामारीविरुद्धको प्रतिकार्यमा नेपाल सरकार, राजनीतिक दल, प्रदेश र स्थानीय सरकार पनि लागेका छन्, यसका लागि सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कोरोनाका कारण देशमा आर्थिक मन्दीको अवस्था आएको र यसबाट नेपाली अर्थतन्त्रमा पर्ने तत्कालीन र दीर्घकालीन प्रभावलाई ध्यान दिन पनि राष्ट्रपतिले शीर्ष नेताहरूसँग आग्रह गर्नुभएको समाचार आजको गोरखपत्रले छापेको छ । File photo



प्रतिक्रिया दिनुहोस्