Logo

‘ऋण लिन आउनेलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नु पर्ने अवस्था आएको छ’



कोरोना भाइरसका कारण सवै क्षेत्र शिथिल बनेपछि बैंककाे ऋणको माग हुन छाडेको छ । निक्षेप संकलन हुने क्रम बढ्दै गएको र ऋणको माग नभएका कारण कर्जा लिन आउनेलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नु पर्ने अबस्था आएको हो ।

कोरोना भाइरसका कारण नयाँ कर्जा विस्तार रोकिएकाले ऋण लिन आउनेलाई रातो कार्पेट ओछ्याउनु पर्ने अवस्था आएको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष अनिल शाहले बताए । ‘निक्षेप थुप्रिएको छ, तर ऋणको माग आएको छैन्,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शाहले भने, ‘ऋण लिन आउनेलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नु पर्ने आवस्था आएको छ ।’

निक्षेप बढेको र कर्जाको माग कम भएर ऋण लिन आउनेलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नु पर्ने अवस्था आएपनि बैंकका सिइओहरुले विदेशबाट ऋण ल्याउन भने छाडेका छैनन् । पछिल्लो पटक लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट २० मिलियन अमेरिकी डलर ऋण लिने सम्झौता गरेको छ ।

स्वदेशमा नै लगानी योग्य रकम (तरलता) फालाफाल भएको अबस्थमा उक्त बैंकले किन ३ वर्षका त्यति ठूलो रकम विदेशबाट ऋण लिन लागेको होला ? अहिले बैंकिङ क्षेत्रमा यही प्रश्न उठाउने गरिएको छ ।

निक्षेप संकलन प्रशस्त रहेका बेला किन बैंकहरूले विदेशबाट ऋण लिइरहेका छन् ? भन्ने प्रश्न राख्दा त्यसको उत्तर भने आफूसँग नभएको बैकर्स संघका पूर्वअध्यक्ष शाहले बताए ।

लकडाउनको करिब ३ महिनाको अवधिमा बैंकको निक्षेप करिव डेढ खर्ब रहेकाे नेपाल बैंकर्स संघको तथ्यांकले देखाउँछ । असार पहिलो सातासम्म ३२ खर्ब ९४ अर्ब रुपैँयाँ निक्षेप संकलन भएको छ । तर, ऋण लगानी भने हुन सकेको छैन् ।

लकडाउनअघि लगानीयोग्य रकमको अभाव भएपछि वाणिज्य बैंकहरुले विदेशबाट ऋण लिएर लगानी गर्न थालेका थिए । पहिलो पटक एनएमबी बैंकले ऋण लिएको थियो,त्यसपछि अरु बैंकले ऋण लिन थालेका थिए । लामो समय लिइने यस्तो ऋणको ब्याजदर भने बैंकले ९ प्रतिशतको हाराहारीमा तिर्नु पर्ने हुन्छ । तर, अहिले नेपालमा नै त्यो भन्दा कम ब्याजदरमा बैंकहरुले निक्षेप संकलन गरिरहेका छन् ।

लगानीयोग्य रकमको अभाव भएका बेला धमाधम विदेशबाट बैंकले ऋण लिएर लगानी बढाउँदै आएका थिए । राष्ट्र बैंकले कूल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार बैंकहरुले विदेशबाट पैसा ल्याउने प्रकृया सुरु गरेका थिए ।
विदेशबाट ल्याएको रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नु पर्ने हुन्छ ।

नेपाल राष्ट्र बैंकले विदेशी ऋण ल्याउनका लागि सुरुमा नीतिगत रुपमा बाटो खोली दिएपछि एक दर्जन बैंकले विदेशबाट ऋण लिन तयार देखिएका थिए । स्वदेशमा लगानी गर्ने पैसा नभएपछि विदेशबाट पैसा ल्याएर ऋण लगानी गर्न बैंकहरु तम्सेका थिए । तर, लकडाउनपछि स्वदेशमा नै लगानीयोग्य रकम थ्रुप्रिन थालेपछि विदेशबाट ऋण ल्याउने तयारीमा रहेका बैंक पछि हटेका थिए । केहीले भने विदेशबाट ऋण ल्याउने प्रक्रिया सुरू गरेकाले रोक्नु उचित नहुने भन्दै ल्याउन लागेका हुन् ।

लकडाउनअघि नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी अभावको समस्यालाई समेत मध्यनजर राख्दै विदेशी बैंकबाट ऋण ल्याउन थालेका थिए । त्यसबेला बजारमा तरलताको अभाव अन्त्य भई सरल रुपमा कर्जा प्रवाह हुने र व्यवसायिक लगानीकर्ताहरुलाई राहत मिल्ने बैंकहरुले अनुमान गरेका थिए ।

पहिलो पटक एनएमबी बैंकले करिव ५ अर्ब रुपैयाँ नेपाल भित्र्याएको थियो । त्यसपछि अन्य बैंकसँगै विदेशी साझेदारीमा सञ्चालित बैंकहरुले पनि विदेशबाट ऋण लिने तयारी गरेका थिए । भारती बैंकको साझेदारीमा खुलेका एसबिआइ र एभरेष्टले पनि साझेदार बैंकबाट ऋण लिने तयारी गरेका थिए । तर, अहिले नेपालमा नै लगानीयोग्य रकम प्रयाप्त मात्रमा भएकाले विदेशी बैंकबाट ऋण लिने काम स्थगित गर्न पुगेका छन् ।

लकडाउनअघि सञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये धेरैले विदेशी बैंकसँग ऋणका लागि प्रक्रिया सुरु गरेका थिए । आन्तरिक स्रोतबाट मात्रै नेपालको ऋणको माग धान्न अपुग भएपछि राष्ट्र बैंकले विदेशबाट पैसा ल्याउने बाटो खोली दिएको थियो । त्यही बाटो प्रयोग गरेर बैंकहरुले ऋण लिन थालेका थिए । तर अहिले लगानीयोग्य रकम बैंकमा प्रयाप्त मात्रमा भएकाले त्यस्तो ऋण लिने प्रक्रिया धेरै बैंकले बन्द गरेका छन् ।

राष्ट्र बैंकले सुरुमा प्राथमिक पूँजीको २५ प्रतिशतसम्म ऋण ल्याउन पाइने ब्यवस्था गरेको थियो । त्यसपछि बढाएर ५० प्रतिशत पुर्याएको थियो । अहिले फेरि बढाएर सत् प्रतिशत पुर्याएको छ । कुनै बैंकको चुक्ता पुँजी नौ अर्ब छ भने त्यही बराबराबको रकम बिदेशी बैंकबाट ऋण लिन पाउने व्यवस्था गरिएको छ ।

लकडाउनअघि ऋणको माग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको थियो । तर, अहिले ऋण माग गर्ने खासै देखिएका छैनन् । तर निक्षेप थपिने क्रम बढ्दै गएको छ ।

गत चैतअघि निक्षेप जति संकलन हुन्छ त्यत्ति नै ऋण प्रवाह भइहाल्ने स्थिति थियो । राजनीति स्थायित्व, शान्ति सुरक्षा पहिलेको तुलनामा सुधार हुँदै गएकोलगायतका कारण बैंकबाट ऋण लिएर लगानी गर्ने क्रम तिब्र रुपमा थिए । तर कोरोना भाइरसका कारण पछिल्लो समय ऋणको माग घटेको छ । त्यसकारण विदेशी बैंकबाट ऋण लिनु जरुरी देखिदैन् । तर, पनि पहिले गरिसकेको सम्झौतालाई तोडने काम केही बैंकले गर्न सकेका छैनन् र उनीहरुले ल्याइरहेका छन् ।

लकडाउनअघि बैंकमा निक्षेपको रुपमा संकलन भएको रकम एकैछिन पनि रहँदैन थियो, तुरन्तै ऋण लिइहाल्ने गर्थे । तर अहिले कोरोना भाइरसका कारण यतिबेला बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । तर, ऋण लगानी हुन सकेको छैन् ।-मेरो लगानीमा विष्णु बेल्वासेको रिपोर्ट



प्रतिक्रिया दिनुहोस्