काठमाडौं, १२ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले आफू कुनैपनि क्याम्पमा नरहेको स्पष्ट पारेका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जनताले एमसीसीको विरोध गरिरहेकोले यथास्थितिमा यसलाई परिमार्जन गरेर मात्रै पार्टी अघि बढ्ने स्पष्ट पारे । ‘पार्टीभन्दा ठूलो सरकार होईन ।’ उनले भने- पार्टीले सरकार बनाएको हो । पार्टी र सरकारको कुरा एडजस्ट गरेर जानुपर्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न अर्का अध्यक्ष पुष्पकमल दाहाल तयार नभएको उनले स्पष्ट पारे ।
स्थायी कमिटी बैठकमा सरकारको कामको समिक्षा गरिने उनले जनाए । सरकारको विकल्प खोज्ने बेला नभएको उनले जिकिर गरे । उनले भने-‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो । प्रचण्डको कार्यकारी पदलाई अझै मुर्त बनाउनुपर्छ ।’ सरकारबाट गल्तीहरु भएका उनको टिप्पणी छ ।