Logo

किस्ता तिर्न नसक्दा ‘फोन अफ’ गर्न बाध्य



काठमाडौँ, १३ असार । सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताउनु भएको छ । कोरोनाको बन्दाबन्दी भएको तीन महिना पूरा भएको छ । यस अवधिमा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउँदा बैङ्कको किस्ता र ब्याज तिर्न नसकेको र यातायात मजदुरहरू भोकै पर्ने अवस्था भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

महासङ्घका महासचिव सरोज सिटौला भन्नुहुन्छ, व्यवसायी मोबाइल अफ गरेर बस्नुपरेको छ, गाडी कुहिन थालिसके, सरकारले कुनै राहतको व्यवस्था गरेको छैन, बैङ्कको किस्ता तिर्न सक्ने अवस्था छैन, बैङ्कको किस्ता पछि सारिदेउ भन्दा पनि भएको छैन, तिर्दैन त भनेका छैनौँ नि पछि तिर्छौं भन्दा पनि भएको छैन । उहाँका अनुसार बन्दाबन्दीले सबैभन्दा प्रभावित भएको सार्वजनिक यातायात क्षेत्र हो । तीन लाख ५० हजार यात्रुवाहक सवारी थन्किएका छन् । कहिलेदेखि गाडी सञ्चालन हुन्छ भन्ने कुरो सरकारले टुङ्गो नलगाउँदा व्यवसायीमा झन् निराश बढेको छ ।

बन्दाबन्दी विस्तारै खुकुलो बनाउँदै जाने सरकारको नीति अनुसार सार्वजनिक सवारी साधन पनि विस्तारै सुचारु गर्नुपर्छ भनेर यातायात व्यवस्था विभागले नयाँ निर्देशिका जेठ २५ गते तयार गरेको थियो । नयाँ निर्देशिकामा कोरोनाबाट सुरक्षित रहेर सवारी सञ्चालन गर्नुपर्ने प्रावधान छन् । सुरक्षित रहन प्राविधिक मापदण्ड तोकिएको छ । सार्वजनिक सवारी सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, सबै सिटमा यात्रु राख्न नपाइने, मास्क, पञ्जा तथा सेनिटाइजरको प्रयोग अनिवार्य गरिने छ । साथै यात्रुको ज्वरो नाप्नेसम्मका प्रावधान छन । यो समाचार आजको गोरखापत्रमा लक्ष्मण दर्नालले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्