Logo

रुपन्देहीमा देखिएको सलहको झुण्ड पाल्पातर्फ लाग्यो



रुपन्देही, १४ असार । रुपन्देहीका बिभिन्न स्थानमा फट्याङग्रा जातको सलहको बथान देखिएको छ । बुटवलको सुख्खानगर, दिपनगर, गोलपार्क, सैनामैना, तिलोत्तमाको ड्राइभरटोल, देवदहको लडियाबाद, भलुही, वडा न ६ को पिपलडाँडा, खरेनी बजार, चरङ्गे लगायतका क्षेत्रमा सलहको बथान देखिएको थियो । बुटवलसहित जिल्लाका बिभिन्न स्थानमा देखिएको सो किरा सलह नै भएको प्रदेश नं। ५ को कृषि विकास निर्देशनालयका प्रमुख यमनारायाण देवकोटाले नागरिकलाइ बताए ।

सलहको बथान कहाँबाट पस्यो भन्ने यकिन भइनसकेपनि बुटवलसहित बिभिन्न स्थानमा सलहको झुण्ड भेटिएको देवकाटाले बताए । शनिबार दिउँसो बिभिन्न स्थानबाट सलहको बथान भेटिएको भन्ने खबर आएपछि नमुना संकलन गरी प्रारम्भिक अनुशन्धान गरीएको र सो किरा सलह नै भएको देवकोटाले बताए । ‘अहिले नै यो कहाँबाट पस्यो र कति संख्यामा छ भन्ने एकिन भएको छैन त्यसको अनुशन्धान गर्दैछौं ।’ कृषि निर्देशनालयका प्रमुख देवकोटाले भने ।

विशेषगरी बुटवलको सुख्खानगर, दिपनगर र गोलपार्क क्षेत्रमा दिउँसो २ बजेपछि ठूलो संख्यामा सलहको बथान देखिएको थियो । बुटवलस्थित प्रदेश प्रमुख कार्यालयकै अगाडी पट्टीको सिमल, आपका रुख सलहको बथानले छपक्कै ढाकेको थियो । देवदहको रचङ्गे पिपलडाँडा, भलुही लगायतका क्षेत्रमा पनि शनिबार दिउँसो एक्कासी लाखौको सख्यामा सलहको बथान मकैबारीमा पसेको त्यहाँका स्थानीयले बताए । स्थानीयका अनुसार ती सलहले दिउँसो मकैबारीमा ठूलै क्षती नगरेपनि बस्ती वरपर र जंगल क्षेत्र चहारेको थियो । साँझ पर्न थालेपछि सहलको बथान नदेखिएको र उत्तरतर्फको जंगल क्षेत्रमा पसेको रचङ्गेका स्थानीय समेत रहेका देवदह नगरपालिका वडा नं।१० का वडाध्यक्ष एकबहादुर सुनारले बताए ।

दिउँसो पसेको सलहको बथान साँझ पख पाल्पा तिर लागेको प्रदेश कृषि निर्देशनालय बुटवलका बरिष्ठ कृषि बाली संरक्षण अधिकृत कामना अधिकारीले बताइन । शनिबार हावाको बेग उत्तरतर्फ बगेकाले त्यससँगै सलहको बथान पनि उत्तर तर्फ लागेको बरिष्ठ कृषिबाली संरक्षण अधिकृत अधिकारीले बताइन । ‘सलहको बथान हावाको बेगसँगै दिनभर उड्छ । रातपरेपछि यो जहाँ बस्छ त्यहाँ ठूलो नोक्सान गर्छ’ अधिकारीले भनीन् ।

उनका अनुसार शनिबार हावाको बेग उत्तर बगेकाले सलहको बथान पनि रुपन्देहीदेखि उत्तर पाल्पातर्फ गएको हो । ‘आज रुपन्देहीमा देखियो त्यसैले यही मात्रै क्षति गर्छ भन्ने हैन । हावाको बेगसंगै सलहको बथान उडेर उत्तर गएको छ । त्यसैले पाल्पामा पनि विशेष सावधानी अपनाउन जरुरी छ’ अधिकारीले भनीन् ।

शनिबार दिउँसो २ बजेपछि तिलोत्तमा, देवदह, बुटवल, सैनामैनाका स्थानीयले आफ्नो पालिकाका कृषि अधिकृत तथा प्रदेश कृषि निर्देशनालयका अधिकारीहरुलाइ सलह पसेको भन्दै खबर गरेका थिए । त्यसलगत्तै कृषि अधिकारीहरुले ती स्थानमा पुगेर किराको प्रारम्भिक अनुशन्धान गरे । तराइमा धान र पहाडमा मकै खेतीको मुख्य सिजन भएकाले किसानहरु सलह पसेको खबरसंगै चिन्तीत भएका छन् । यो किरा जहाँ बस्छ त्यहा ठूलो क्षति गर्ने भएकाले यो किरा देखिने बित्तिकै सम्बन्धित पालिकाको कृषि शाखा ज्ञानकेन्द्र वा प्रदेशको कृषि मन्त्रालय वा निर्देशनालायलाई खबर गरीदिन देवकोटाले सबैलाइ आग्रह गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमाा छापेको छ ।



प्रतिक्रिया दिनुहोस्