काठमाडौं, १४ असार । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफूमाथि पटक पटक अन्याय भएको फेहरिस्ता निकालेका छन् । उनले हिजो बसेको स्थायी कमिटि बैठकमा आफूले देश, जनता र पार्टीको हितमा बोल्दा र कदम चाल्दा किन कारबाही भोग्नुपर्यो ? भनी प्रश्न गरे ।
बैठकमा निकै कडा रुपमा प्रस्तुत भएका गौतमले महाकाली सन्धीको विरोध र गणतन्त्रको पक्षमा बोल्दा किन कारबाही भयो ? भनी प्रश्न गरे । उनले शुरुमा महाकालीको प्रसंग निकाले ।
महाकाली सन्धीको पक्षमा विगतमा भएको निर्णय गम्भीर गल्ती प्रमाणित भएको बताए । उनले विगतको उक्त कदम गल्ती थियो भनी पार्टीले निर्णय गर्नुपर्ने माग गरे ।
गौतमले महाकाली सन्धी गर्दा मुहान लिम्पियाधुरा तय हुनुपर्छ अनिमात्र सन्धी गर्नुपर्छ भन्दा कारबाही गरिएको घटना स्मरण गराए । उनको भनाई उदृत गर्दै एक नेताले भने, महाकाली सन्धीमा ऐतिहासिक गल्ती प्रमाणित भएको छ, त्यो गल्ती हुन नदिने मैंले कदम चाल्दा उल्टो कारबाही भयो । अब त्यो गल्ती भएको पार्टीले निर्णय गर्नुपर्छ ।
उनले आफूलगायत १६ जना कमरेडहरुले महाकाली सन्धी गर्दा नदीको मुहान तय गर्नुपर्छ भन्दा कारबाही गरेर अन्याय गरिएको भन्दै जो जो सन्धीको पक्षधर थिए उनीहरुले पनि त्यसको समिक्षा गरी आत्मालोचना गर्नुपर्ने माग गरे ।
गौतमले अहिले भारतसँग कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद उठ्दा महाकाली सन्धी फेरि स्मरणमा आएको छ । २५ वर्ष अघि भएको सन्धीको पक्षमा तत्कालिन नेकपा एमालेका नेता तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सक्रियता देखाएका थिए ।
२९ माघ २०५२ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका तत्कालिन प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धी भएको थियो । उक्त सन्धीलाई संसदले ४ असोज २०५३ मा दुई तिहाईले पारित गरेको थियो । सन्धीको विपक्षमा रहेको समुहको नेतृत्व गौतमले गरेका थिए । पछि पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै उनीहरुमाथि कारबाही भएको थियो । पछि गौतम महासचिव र साहना प्रधान अध्यक्ष बनेर नेकपा माले गठन भएको थियो ।
यसैगरी, गौतमले गणतन्त्रको पक्षमा बोल्दा छ महिना निलम्बनमा परेको प्रसंग पनि उठाए । २०६१ सालमा नेपाली काँग्रेसको महाधिवेशन उद्घाटन समारोहमा वक्ताका रुपमा गौतमले एमाले अब गणतन्त्रमा जान्छ अब काँग्रेसले पनि हिम्मत गरोस् भन्दा देश गणतन्त्रमा जान्छ भन्दा कारबाहीमा परेका थिए । उनलाई तत्कालिन एमाले नेता केपी शर्मा ओली प्रस्तावक र विष्णु पौडेल समर्थक बनेर अनुशासनको कारबाही भएको थियो । त्यतिबेला ओलीले देश गणतन्त्रमा जान्छ भन्नु र बयलगाडा चढेर अमेरिका जान्छु भन्नु उस्तै हो भनेर बोलेका थिए ।
गौतम जुन विषय उठाएर कारबाहीमा गए त्यही एजेन्डामा देश बढ्यो र गणतन्त्रमा प्रवेश गर्यो । गौतमले महाकाली सन्धीको विरोध र गणतन्त्रको समर्थन गर्दा भएको कारबाहीको हिसाबकिताब गर्न थाल्नुलाई गम्भीरताका साथ लिइएको छ ।