काठमाडौं, असार १४ । सरकारले उन्नत जातको बीउ प्रयोग गरेर कृषि उत्पादन वृद्धि गर्ने बताइरहँदा किसानले भने अहिले पनि ४७ वर्ष पुरानो धानको बीउ प्रयोग गरिरहेका छन्। तराईका अधिकांश जिल्लाका लगाइने मन्सुली जातको धान ४७ वर्ष पुरानो हो। यो धान कृषि अनुसन्धान परिषद् (नार्क) ले २०३० सालमा उन्मोचन गरेर सिफारिस गरेको थियो।
धान धेरै फल्ने तराईमा अहिले पनि मन्सुली लगाइरहेको नार्कका वरिष्ठ वैज्ञानिक मनोज ठाकुरले बताए। ‘नयाँ उन्नत जातका धान सिफारिस भए पनि किसानसम्म पुग्न सकेको छैन,’ ठाकुरले भने, ‘किसानले ४७ वर्षपहिले सिफारिस गरिएको धान लगाइरहेका छन्।’
नयाँ उन्नत जातको बीउ प्रयोग गरे १५ देखि २० प्रतिशत धान उत्पादन बढ्ने विज्ञहरू बताउँछन्। तर पुरानो बीउ प्रतिस्थापन हुन सकेको छैन। धान उत्पादन वृद्धि हुन नसक्दा वार्षिक करिब ३० अर्ब रुपैयाँको चामल विदेशबाट आयात भइरहेको छ।
तराईलाई मात्र नभएर मध्यपहाडी क्षेत्रलाई लक्षित गरी २०४४ सालमा नार्कले सिफारिस गरेको खुमल–४ जातको धान पनि अहिले प्रयोगमा छ। सीमित ठाउँमा नयाँ हाइब्रिड जातका धान लगाउन थालिएको छ। अधिकांश किसानले धानको पुरानो बीउ नै प्रयोग गरिरहेका छन्। मन्सुली, खुमलटारमात्र नभएर सावित्री धान पनि धेरै जिल्लामा लगाउने गरिएको छ। यो करिब ३५ वर्षपहिले सिफारिस गरिएको धानको जात हो। नागरिक दैनिकबाट