Logo

श्रोत नखुलेको नेपाली नगद सहित ३ पक्राउ



महोत्तरी, १४ असार । श्रोत नखुलेको नेपाली नगद सहित ३ जना शनिबार दिउँसो पक्राउ परेका छन् । मनराशिष्वा नगरपालिका भलुई चौक नजिकबाट श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिकाका रोहित कुमार साह, संजय कुमार साह र जय कुमार साह रहेका छन् । उक्त १८ लाख रुपैयाँमध्ये रोहितको साथबाट ९ लाख रुपैयाँ, संजयको साथबाट ३ लाख ५० हजार रुपैयाँ र जयकुमारको साथबाट ५ लाख ५० हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज.११ प ८१०८ नम्बर र प्रदेश २–०३–००३ प ४०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्