Logo

स्वास्थ्यकर्मीको सरुवाविरुद्धमा स्थानीयले गाउँपालिका घेरे



धादिङ, १५ असार । विगत लामो समयदेखि काम गरिरहेका स्वास्थ्यकर्मीको अन्यायपूर्ण ढंगले सरुवा गरेको भन्दै धादिङको सिद्धलेक गाउँपालिका ६ कुम्पुरका स्थानीय विरोधमा उत्रिएका छन् । जनचाहना विपरित जनप्रतिनिधिले कदम चालेको भन्दै आइतबा र स्थानीयले गाउँपालिका घेराउ गरेका हुन् ।

सिद्धलेक गाउँपालिकालको कुम्पुर स्वास्थ्य चौकीमा काम गरिरहेका स्वास्थ्य चौकी प्रमुख रकिम अन्सारीलाई प्रतिसोध साँधेर अन्यायपूर्ण तवरबाट अन्यत्र सरुवा गरिएको भन्दै स्थानीयबासीले विरोध जनाएका हुन् ।

लामो समयदेखि सेवा दिइरहेका अन्सारीलाई स्थानीयको चाहानाविपरित अन्यत्रै पठाएर स्वास्थ्य चौकीमा अन्योलता सिर्जना गरेको भन्दै सेवाग्राही गाउँपालिका पुगेका हुन् । स्थानीय पदम श्रेष्ठले भने, हामीकहाँ बर्षौ सेवा दिएको मान्छेलाई व्यक्तिगतरुपमा प्रतिसोध साँधेर जनचाहनाविपरित अन्तै पठाइने निर्णय गाउँपालिकाले गरेको छ, जनताको सेवाको लागि भनेर चुनाव जितेका जनप्रतिनिधिको यो निर्णय जनचाहना विपरीत छ, त्यसैले विरोध स्वरुप गाउँपालिकामा धर्ना दिएका हौँ ।

अन्सारी विगत २४ वर्षअघिदेखि कम्पुर भन्ज्याङस्थित स्वास्थ्य चौकीमा सेवारत थिए । उनी उक्त स्वास्थ्य चौकीका इन्चार्ज समेत हुन् । गत वर्षको कर्मचारी समायोजनमा उनले सिद्धलेक गाउँपालिका नै रोजेका थिए । मन्त्रालयबाट सिद्धलेक गाउँपालिकामा समायोजन भएको पत्र ल्याएर बुझाएपछि आफूलाई प्रतिसोध साँधेर काम गरिरहेको ठाउँ भन्दा अन्यत्रै पठाएको भन्दै उनी गएका छैनन् ।

स्वास्थ्य चौकी प्रमुखले भ्रष्टाचार गरेकाले सरुवा गरेको भनेर गाउँपालिकाले भनेका छन्,अर्का स्थानीय सोम बहादुर मगरले भने, भ्रष्टाचार गरेको भए कारवाही गर्ने पो हो त, झन अन्त सरुवा गरेर उन्मुक्ती दिन मिल्छ र यसै त स्वास्थ्यकर्मी कम छन्, त्यही पनि अर्को ब्यवस्था नगरि एकैपटक हटाउन पाइदैन भनेर गाउँपालिका घेराउ गरेका हौँ ।यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्