Logo

घर पालुवा जनावरहरू सार्वजनिक खुला क्षेत्रमा जथाभावी छोड्न नपाइने



भक्तपुर, १५ असार । भक्तपुर नगरमा अत्यधिक धुँवा तथा रसायनिक पदार्थ निष्कासन हुने उद्योग सञ्चालन गर्न नपाइने भएको छ । आइतबार बसेको नगरपालिकाको सातौ नगरसभाको बैठकमा भक्तपुर नगरपालिकाको वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी विधेयक २०७७ प्रस्तुत भई पारित भएसँंगै यस्तो भएको हो । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सातौं नगरसभाको बैठकमा विधायन समितिका संयोजक हरिराम सुवालले विधयेक पेश गरेका थिए ।

विधेयकसँंगै नगरमा कसैले तोकिएको समय र स्थानमा बाहेक फोहरमैला फालेमा र चोक तथा खुला क्षेत्रमा स्थानीय वडा कार्यालयको अनुमतिमा बाहेक जथाभावी सवारीसाधन पार्किङ गरेमा प्रदूषणजन्य कसुर ठहर्ने उल्लेख छ । विधेयकमा विश्व सम्पदा क्षेत्र र पुरानो नगर क्षेत्रका घर भवनमा तोकिएबमोजिम परम्परागत छाना नराखेमा, फोहरबाट निस्केको दूषित पानी सार्वजनिक स्थल, सम्पदा, पानीको स्रोत वा अन्य व्यक्तिको घर वा जग्गा प्रदूषित गराए, पूजाआजा वा परम्परागत संस्कारमा बाहेक सार्वजनिक स्थानमा पशुपंक्षीको वध गर्ने र पोल्ने गरे, घर पालुवा जनावरहरू सार्वजनिक खुला क्षेत्रमा जथाभावी छोड्ने र फोहर ९दिसा, पिसाब० गराए कसुर ठहर्नेलगायतका व्यवस्थाहरू गरिएको छ ।

नगरसभामा प्रमुख प्रजापतिले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक भक्तपुर नगर क्षेत्रमा बढ्दो सहरीकरणसँगै नगरलाई मौलिक स्वरुप कायम गर्न र नगरभित्र वातावरणीय संरक्षणमार्फत स्वच्छता कायम गर्दै ध्वनी, दृश्य एवम् वातावरणीय प्रदूषण नियमन र नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले यो विधेयक ल्याएको खबर आजको नागरिक दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्