Logo

भारतका ‘परममित्र’ ओली कसरी बने ‘भारत विरोधी’



काठमाडौं, १५ जेठ । भारतसँग भएको महाकाली सन्धीमा मुख्य भुमिका निभाउनेमध्येका थिए तत्कालिन नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओली । ४ असोज २०५३ मा सन्धीलाई संसदको दुई तिहाईले पारित गर्दा ओलीले पक्षमा जुन अडान लिए त्यसले उनलाई भारतसँग झन् नजिक बनायो । सन्धीको विरोधमा गएर मतदान बहिष्कार गर्नेहरुलाई कारबाही गर्न उनैले भुमिका खेले ।

बामदेव गौतम, साहना प्रधान, सिद्धिलाल सिंहलगायत नेताहरु महाकाली सन्धीको विपक्षमा उभिदा कारबाहीमा परे । त्यसमा पनि ओलीकै भुमिका थियो । गोतमलगायतलाई पार्टीबाट निष्काशन गरिएपछि नेकपा एमाले गठन भएको थियो । ओलीले खुलामञ्चमा भाषण गर्दै काक्रोको तुलना दिदै तीतो तीतो काटिएको र मीठो मीठो बाँकी रहेको भने ।

महाकाली सन्धीलाई ‘राष्ट्रघाती’ भन्दै तत्कालिन नेकपा मालेले ओलीलाई ‘भारतपरस्त’को आरोप लगाए । ओली भारतको परममित्रका रुपमा चिनिए । उनको पदमा नहुँदा समेत दिल्ली बाक्लो आवतजावत हुन्थ्यो । पूर्वमन्त्री जयप्रकाश गुप्ताले त ओलीलाई एकपटक उपचारका क्रममा जाँदा राति त्यहाँको सरकारी भवनमा भेटेको उल्लेख गरेका छन् । ओलीको भारतका राजनीतिज्ञसँग सिधा सम्बन्ध थियो । नेपाल मामलाका जानकार प्राध्यापक देखि थिङ्क ट्याङ्कसँग भेटघाट गरिरहन्थे । भारतीय मिडियाले पनि ओलीलाई भारतको असल मित्र भनी उल्लेख गरिरहन्थे ।

जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा ओली उपप्रधान सहित परराष्ट्रमन्त्री बने । उनको त्यतिबेला भारतसँग सुमधुर सम्बन्ध थियो । ओलीप्रति दक्षिणको दृष्टिकोण पनि सकारात्मक नै थियो ।

२०७२ सालमा संविधान जारी गर्दा भारतले असन्तुष्टि देखायो । ओली त्यतिबेला भारतको असन्तुष्टिको आलोचना गरे । तत्कालिन भारतीय विदेशसचिव एस जयशंकर नेपाल आउँदा असन्तुष्ट मध्येका ओलीलाई बालकोट पुगेर भेटेका थिए । त्यतिबेला उनले जयशंकरको आग्रहलाई ठाडो जवाफ दिएर आलोचना गरे । त्यसपछि उनको भारतसँग केही दुरी बढ्द थाल्यो ।

संविधान जारी भएपछि सुशील कोइराला नेतृत्वको सरकार ढल्यो । ओली प्रधानमन्त्री भए । उनको ९ महिने कार्यकालमा उत्तरी छिमेकी चीनसँगको सम्बन्ध सुदृढ बनाउन केन्द्रित हुनथाल्यो । चीनसँग पारवहन सन्धी ओली कार्यकालमा भयो । जसलाई उनले हिजोको बालुवाटारमा दिएको अभिव्यक्तिमा उल्लेख गरेका छन् । त्यसपछि उनको सरकार ढालिएको भनेका छन् । ओलीको संकेत भारततर्फ थियो ।

ओलीले जेसुकै भनेपनि उनको भारतको संस्थापन पक्षसँग त्यतिबेला पनि सम्बन्ध बिग्रिइसकेको थिएन । गएको संसदीय चुनावसम्म पनि ओली भारतले रुचाएका नेतामध्येकै थिए । उनले भारतको सत्तारुढ भारतीय जनता पार्टीसँग भित्री सहमति गरेको खुलासा भएको छ । बैंककमा भाजपाको विदेश विभाग हेर्ने राम माधवसँगको गोप्य सहमतिको खुलासा काँग्रेस नेता अमरेश सिंहले गरेका छन् । सिंहले दाबी गरे अनुसार ओलीले नेपालमा ‘हिन्दु राष्ट्र’ ल्याउने प्रतिवद्धता जनाएका थिए ।

यसमा ओलीले चार्तुयता देखाएका थिए । भाजपा सरकारमा रहेको र उसको स्वार्थ पूरा गर्ने प्रतिवद्धता जनाउने तर त्यो गर्नुपर्ने अवस्था नआउने उनको आँकलन थियो । मोदी दोस्रो कार्यकाल नजित्ने, भारतमा हङ्ग पार्लियामेन्ट रहेर तेस्रो शक्तिबाट प्रधानमन्त्री बन्ने रिपोर्ट ओली निकटस्थले बुझाएका थिए । तर, सोचेभन्दा बेग्लै परिस्थिति भयो । मोदी भारी बहुमतका साथ जितेर दोस्रो कार्यकालमा आए । ओली त्यसपछि दबाबमा परे । उनले गरेको प्रतिवद्धताको विषय उठ्यो । भित्री रुपमा सम्बन्ध बिग्रनुमा यसले पनि भुमिका खेलेको थियो ।

ओलीले विस्तारै चीनसँगको सम्बन्ध सुदृढ गरेर भारतलाई ‘चेक एन्ड ब्यालेन्स’ मा राख्न खोजे । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्ध अझ सुदृढ पारे । नियमित प्रशिक्षणहरु हुनथाल्यो । चीनसँगको सम्बन्ध बलियो बनाउँदै जाने क्रममा ओली कार्यकालमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण गत वर्ष भयो । यसरी ओलीले भारतमाथि दबाब बढाउन थाले ।

यतिसम्म पनि भारत अझै ओलीप्रति धेरै नकारात्मक भइसेको थिएन । ओली स्वयंले केही महिना अघि बालुवाटारमा गनिएका पत्रकारहरुलाई बोलाएर आफ्नो मोदीसँग सुमधुर सम्बन्ध रहेको बताएका थिए ।

ओलीको सत्ता संकटमा पर्दै गर्दा अनेकन घटना विकास हुनथाल्यो । उनले विवादास्पद कदमहरु चाल्न थाले । सत्ता डगमगाउँदै गर्दा उनले चिनियाँ पक्षको साथ मागे । ओलीको सत्ता संकटमा पर्दा चिनियाँ राजदुतको दौडधुप खुलेआम देखियो । यसले भने भारतलाई झस्काएको हुनुपर्छ । ओली यो हदसम्म भारतको विरोधमा जालान् भन्ने उसले सायद सोचेको पनि थिएन । आफ्नो पुरानो मित्रबाट यस्तो होला भन्ने भारतलाई नलागेको हुनुपर्छ । तर, स्थिति धेरै अगाडि बढिसकेको थियो ।

लिपुलेक लिंकरोड निर्माण भइरहँदा सन् २०१५ मा मोदी र सी जिनपिङबीच त्रिदेशीय सिमाक्षेत्र भनिएको ठाउँमा सिमा सम्झौता भएको थियो । यसप्रति सुशील कोइराला सरकारले आपत्ती जनाएको थियो । त्यतिबेला ओली मौन थिए । तर, लिंकरोड उदघाटनपछि नेपालभित्र यो विषय जोडतोडले उठ्यो । ओलीले यसलाई मौकाका रुपमा लिएको देखिन्छ । उनले विषय उठाएनन् मात्र नयाँ नक्शा जारी गर्ने कदम चाले । यसले भने भारत चिढियो ।

लिंकरोड उदघाटनमा नेपालको आपत्तीलाई भारतीय सेनापतिले कसैको उक्साहट भनी चीतर्फ संकेत गरेका थिए । त्यसपछि ओलीले संसदमै त्यसको आलोचना गरे । भारतीय अधिकारीहरुको अभिव्यक्तिको ओलीले संसदमा निरन्तर आलोचना गरिरहे ।

ओलीले भारतसँग वार्ता गर्न नचाहेको विषय बाहिर आयो । नेपाल मामलाका जानकार निहार नायकले ओली र मोदीबीच टेलिफोन वार्ता तय हुनैलाग्दा नक्शा जारी गर्न लागेपछि रोकिएको खुलासा गरेका छन् । घटनाक्रमले ओलीको भारतसँग सम्बन्ध निकै बिग्रिइसकेको पुष्टि गर्यो । भारतसँग ओलीको नयाँ नक्शा जारी गरेपछि मात्र सम्बन्ध बिग्रिएको घटनाक्रमले देखाएको छ ।

हिजो राष्ट्रपति विद्यादेवी भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीलाई छेउमा राखेर मदन भण्डारीको जन्मजयन्तीमा ओलीले भारतलाई कडा चेतावनी दिएका छन् । उनले भारतमाथि सिधै आफूलाई हटाउन लागेको आरोप समेत लगाए । भारतको राज्य संयन्त्र नै आफूलाई हटाउन लागेको ओलीको भनाई सार्वजनिक भएको छ । त्यसको कारणमा उनले नक्शा जारी देखि अतिक्रमित भुमि फिर्ता गर्न लाग्न खोजेका छन् ।

ओलीले यसरी एकपछि अर्को राजनीतिक अस्त्रहरु फालिरहेका छन् । कतिपयले उनको यो अस्त्र राष्ट्रियताका लागि भन्दा पनि सत्ता जोगाउनका लागि हो भनिरहेका छन् । ओली कुनैबेला भारतका नजिकका मित्र थिए । भारतसँग भएको विवादास्पद महाकाली सन्धी गर्दा पार्टीलाई नै दाउमा राखेका थिए । अहिले उनी भारतलाई चुनौती दिइरहेछन् । यसपटक भने उनको सम्बन्ध निकै बिग्रिइसकेको छ । सम्बन्ध बिग्रिएको लामो समय भने भएको छैन ।

भारतीय पक्षले ओलीले भारतको स्वार्थ यो हदसम्म बिगारेको भन्दै गम्भीरता देखाएको बुझिएको छ । टाइम्स अफ इन्डियाले शनिबारको अंकमा प्रचण्ड बरु भारतसँग उतिसारो मित्रवत नभएको तर मित्रवत सम्बन्ध भएका ओलीले भारतको स्वार्थ नै बिगारिदिएको लेखेको छ । यो आफैमा अर्थपूर्ण छ । दिल्लीले आफ्नो परममित्रबाट ठुलो धोका पाएको निष्कर्ष निकाल्न थालेको छ । बौद्धिक छलफल र विश्वसनीय पत्रिकाहरुबाट यो खबर सार्वजनिक भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्