काठमाडौ, असार १७ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा मनसुन सक्रिय भएकै दिन गत जेठ ३१ गते घरमा पहिरो खस्दा दुई परिवारका नौ जनाले ज्यान गुमाए । चबन्न घर रहेको बस्तीको बीचमा पहिरो खस्दा तीन घरगोठ बगाएको थियो भने अझै नौ घर उच्च जोखिममा रहेका छन् ।
असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरियो । त्यहाँ पहिरो खस्दा चार जनाले ज्यान गुमाए भने चारवटा गाडीसमेत पुरिएको थियो । मनसुन सक्रिय भएको पहिलो १५ दिनको अवधिमा पहिरोका कारण मात्रै १८ जनाको दुःखद् निधन भएको छ । अन्य घटना जोड्दा ३१ जनाले ज्यान गुमाइसकेका छन् । गत वर्ष यो अवधिमा १४ जनाको ज्यान गएको थियो ।
सो अवधिमा गत वर्षको तुलनामा विपद्का घटना केही कम देखिए तर मानवीय क्षति भने निकै बढी हुन पुगेको छ । मनसुन शुरु भएको पहिलो १५ दिनको तथ्याङ्क विष्लेषण गर्दा पछिल्लो १० वर्षमा यो वर्ष विसं २०७० पछिकै सबैभन्दा बढी मानवीय क्षति भएको पाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा गत वर्ष १५९ घटना भएकोमा यस वर्ष १४३ घटना भयो । राजधानी दैनिकबाट