लहान, असार १७ । करिब चार लाख एक हजार नौ सय ६ हेक्टरमा रोपाइँ हुँदै आएकोमा असार १४ सम्म ६१ हजार नौ सय २० हेक्टरमा रोपाइँ सकिएको छ । सिरहा गोलबजार गुरुधाम टोलका किसान शुभनारायण यादव ६ बिघा खेत रोपाइँका लागि तयारी अवस्थामा राखेका छन्। आफ्नो १० बिघामध्ये बाँकी चार बिघामा तरकारी खेती गर्दै आएका उनले यसपालि मल नपाएकाले रोपाइँ सुरु गर्न पाएका छैनन्।
उनी भन्छन्, ‘पहिले पाएसम्म अनुदानको मल लिन्थें। नपुगे भारतबाट ल्याउँथें। यसपालि अहिलेसम्म अनुदानको मल पाएको छैन। लकडाउन भएकाले भारत गएर ल्याउन पनि सकिएन।’
प्रदेश–२ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सचिव डा। विमलकुमार निर्मलका अनुसार, लकडाउनका कारण बोर्डर बन्द हुँदा भारतबाट मल किनेर रोपाइँ गर्दै आएका करिब ४० प्रतिशत किसानको रोपाइँ रोकिएको छ। भारतबाट मल ल्याएर रोपाइँ गर्ने कारण यस प्रदेशमा मागको एक चौथाइ हिस्सा मात्र आपूर्ति हुँदा पनि मलको उति साह्रो हाहाकार हुँदैनथ्यो। उनी भन्छन्, ‘अहिले अुनदानको मल पनि छैन, पारिको बाटो पनि बन्द छ। कारण प्रदेशभर रासायनिक मल अभाव चुलिएको छ।’
प्रदेश–२ मा यसपालि जेठ तेस्रो सातादेखि रोपाइँ सुरु भएको छ। प्रदेश–२ भर बर्खे सिजनमा करिब चार लाख एक हजार नौ सय ६ हेक्टरमा रोपाइँ हुँदै आएको मन्त्रालयको तथ्यांक छ। यसपालि असार १४ सम्म ६१ हजार नौ सय २० हेक्टर अर्थात् १५ प्रतिशत रोपाइँ भएको छ।
‘किसानले समयमै बीउ राखे,’ मन्त्रालयका सचिव डा। निर्मल भन्छन्, ‘मनसुन यही हिसाबले भयो भने रोपाइँ राम्रो हुन्छ।’ यस वर्ष बाँझो जग्गा नराख्ने अभियानस्वरूप पनि रोपाइँ बढाउने मन्त्रालयको दाबी छ। यस प्रदेशमा चैते धान खेती पनि हुने भएकाले भदौसम्म रोपाइँ चल्छ।
असार १४ सम्म यस प्रदेशको पर्सामा ३० प्रतिशत, बारामा २० प्रतिशत, रौतहटमा २० प्रतिशत, सर्लाहीमा १६ प्रतिशत, महोत्तरीमा १४ प्रतिशत, धनुषामा १० प्रतिशत, सिरहामा ८ प्रतिशत र सप्तरीमा १० प्रतिशत रोपाइँ भएको मन्त्रालयको प्रवक्ता रजनिश मिश्रले बताएको आजको नागरिक दैनिकमा खवर छ ।