काठमाडौं, १८ असार । अनुमति बिना माछापुछ्रे बैंकको भवनको भिडियो खिच्न ड्रोन उडाउने कार्यमा संलग्न ४ जना बुधबार साँझ पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका लाजिम्पाटमा बिना अनुमति ड्रोन उडाउने कार्यमा संलग्न मार्चिङ एण्ड प्रालिका कर्मचारी ललितपुरमा बस्ने रवि शाक्य सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा मानव रहित हवाई उपकरण ड्रोन उडाएको जानकारी प्राप्तभएसँगै लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । सोही ठाउँस्थित माछापुछ्रे बैंकको भवनको भिडियो खिच्न मार्चिङ एण्ड प्रालि कम्पनीलाई जिम्मा दिएकोमा उक्त ड्रोन बिना अनुमति उडाएको र निषेधित क्षेत्रमा पुगेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।