पोखरा, १८ असार : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोनाको रोकथाम र नियन्त्रणमा तीनवटै तहले समन्वय गरी अघि बढेको बताएका छन्।
गण्डकी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग उठेको प्रश्नको जवाफ दिदैं उनले कोरोनाका कारण तीनवटै तहको समन्वय मुखरित भएको र स्थानीय सरकार प्रभावकारी भए भने उनीहरूले तत्काल सेवा प्रवाह गर्न सक्छन् भन्ने कुराको पुष्टि भएको बताए ।
मुख्यमन्त्री गुरुङले असामान्य, असाधारण, जटिल र सङ्कटपूर्ण अवस्थामा बजेट तथा कार्यक्रम प्रस्तुत भएको उल्लेख गर्दै कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाले प्रदेश सरकारको औचित्य प्रमाणित भएको बताए ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगले प्रभावकारिताका साथ काम थालेको बताउँदै उहाँले प्रदेशको समग्र विकासलाई अघि बढाउने योजनाका साथ प्रथम पञ्चवर्षीय योजना बनाएको जानकारी दिए ।
गण्डकी विकास प्राधिकरणको स्थापनाको औचित्यबारे प्रकाश पार्दै उनले प्रदेशको समृद्धि तथा विकासका लागि सार्वजनिक निजी साझेदारीका साथै अन्य किसिमको विकासमा विदेशी तथा निजी लगानी भित्र्याउन यसको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे ।
मुख्यमन्त्री गुरुङले प्रदेश लोक सेवा आयोगका काम अघि बढ्ने उल्लेख गर्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई जनताका इच्छा आकाङ्क्षा सम्बोधन गर्ने गरी कार्यविधि व्यवस्थित गरिने बताए ।
व्यवसाय जीवन रक्षा कोष व्यवस्थित कार्यविधि बनाएर त्यसको उपयोग गरिने उल्लेख गर्दै उहाँले सरकारका सबै काम कारवाही पारदर्शी तथा मितव्ययी बनाइने बताए । मुख्यमन्त्री गुरुङले अनुत्पादक खर्च कटौती गरिएको बताउँदै गण्डकी प्रदेशलाई दुई वर्ष भित्रमा डिजिटल प्रदेशका रुपमा अघि बढाइने प्रतिवद्धता व्यक्त गरे । कार्यालय कार्यालयबीचमा पनि नमूना कार्यालय छनौट गर्नुका साथै कर्मचारी कर्मचारीबीच उत्कृष्ट कर्मचारी छनौट गर्नेजस्ता कार्यक्रम सञ्चालन गरिने उनले बताए । हेल्लो मुख्यमन्त्रीलगायतका कार्यक्रमबाट जनतासँग सरकार प्रत्यक्ष जोडिएको बताउँदै उनले विकास निर्माणसँग जोडिएका कार्यालय सबै जिल्लामा नहुनु, प्राविधिक कर्मचारीको अभाव हुनुजस्ता विभिन्न कारणले पूँजीगत खर्च चाहेअनुरुप खर्च हुन नसकेको बताए।रासस/File photo