Logo

घेराबन्दीमा चीन



विपिन देवः कोरोनाले उग्र राष्ट्रवादको भाष्यलार्ई स्थापित गरेको छ । उग्र राष्ट्रवादको भाष्यलाई मलजल गर्न संचार जगतको भूमिकालाई पनि नकार्न मिल्दैन । कोरोनाले साझा संकल्प, विश्व बन्धुत्वको भावना, अन्तर्राष्ट्रिय लोककल्याणकारी संस्थाहरुको सक्रियताको अपेक्षा गरेको थियो । तर कोरोनाले शित युद्ध भन्दा पनि कठिन अवस्थाको निर्माण गरिरहेको छ । खास गरेर चिनियाँ शैली र चिनियाँ राजनीति, चिनियाँ जनताको आक्रोश र असन्तुष्टिलाई तुष्टीकरण गर्न सुरक्षा र सीमामा ध्यान आकृष्ट गर्न यथेष्ठ प्रयास गरिरहेको छ ।

चीन कुटनीतिको वृत्तमा अलग–थलग परिरहेको अवस्थामा छ । पश्चिमा भाष्य र व्याख्यायान चीनको विरोधमा निर्माण भइरहेको छ । चर्चित लेखक गोडेन च्याङ्गले आफ्ना पुस्तक “कमिङ्ग कोल्याप्स अफ चाइना” मा चीन आउने दिनमा कठिन परिस्थिति हुने कुराको आँकलन गरिएको छ । च्याङ्गका अनुसार चीनको विकासको आधार नै निर्यातमुखी अर्थतन्त्र हो चीनको निर्यात प्रत्येक महिनामा कम भइरहेको छ । हालका दिनमा नै चीनको निर्यातमा १६.३ ले कमी भएको छ । अर्को तर्फ चीनले हरेक छिमेकीसँग सीमा विवादमा अल्झिएको देखिन्छ । जापानसँग टापुको विवाद, साउथ चाइना सी मा नयाँ टापु निर्माण गरेर फिलिपिन्स, भियतनाम, इण्डोनेसिया लगायत मलेसिया सम्म चीनले द्वन्द सृजना गरिरहेको अवस्थाले चिनियाँ अर्थतन्त्र प्रभावित भइरहेको छ ।

आसियान मुलुकहरु सिंगापुर, मलेसिया, इण्डोनेसिया, थाईल्याण्डले चिनियाँ समृद्धीलाई उकास्न यथेष्ठ योगदान गरेको कुरालाई विस्मृतिमा राख्न सकिदैन । अर्को तर्फ चीन र भारतका बीच पनि व्यापक द्वन्द सृजना भइरहेको छ । १४००० फिटको उचाईमा चिनियाँ सैनिक र भारतीय सैनिक लद्दाखको भूमिमा अस्त्र र शस्त्र लिएर भिडन्त गरिरहेको थिए । भिडन्तमा २० जना भारतीय सैनिक मृत्युवरण हुनु र चिनियाँ सैनिकको पनि हताहातीले गर्दा युद्धको कुहिरो भारत र चीन बीच निर्माण भइरहेको छ । पश्चिमा शक्ति भारत र चीनको भिडन्तलाई मलजल गर्न कुनै कसर बाँकी राखेका छैनन् । भर्खरै चीन र भारतको भिडन्तलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपतिका संचार प्रवक्ता केली ले चीनलाई चेतावनी दिएका छन् । अर्को शब्दमा भन्ने हो भने अमेरिकाले चीन र भारतको भिडन्तमा अभिभावकिय भूमिका खेल्नुको साटो भारतलाई पूर्ण रुपमा सैनिक र सामरिक सहयोगको उद्घोष गरेका छन् ।

अर्को तर्फ अमेरिकी सेक्रेटरी अफ स्टेट माइक पोम्पीओले चिनियाँ शैलीलाई निन्दा गर्दै चीनले ताइवान, हंगकंग, भारत, भियतनाम, जापान लगायत इण्डोनेसियामा लिएको नीति माथि प्रहर गर्दै चेतावनी युक्त भाषामा प्रजातान्त्रिक शक्तिहरुको ध्रुविकरणको संकेत समेत गरेका छन् । अर्को तर्फ चिनियाँ नीतिले गर्दा अस्ट्रेलियामा पनि असन्तुष्टि बढेको देखिन्छ । आउने दश वर्षमा अस्ट्रेलियाले आफ्नो सैनिक खर्चमा ४० प्रतिशतले अभिवृद्धि गर्ने घोषणा गरेको देखिन्छ । अर्थात् अस्ट्रेलियाले आफ्नो सैनिक खर्च १९५ बिलियनबाट २७० बिलियन बढाउने घोषणा गरेको छ ।

यसरी अस्ट्रेलियाले आफ्नो सुरक्षामा खर्च अभिवृद्धि गर्नुको पछाडी चिनियाँ नीति नै जिम्मेवार रहेको कुरा छापाखानामा छर्लङ्ग देखिन्छ अर्थात् चीनले अस्ट्रेलियालाई चेतावनी दिन बित्तिकै अस्ट्रेलिया आक्रान्त देखिन्छ । तदनुरूप नै अस्ट्रेलियाले आफ्नो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इण्डोप्यासिफिक क्षेत्रमा क्वार्ड (अमेरिका, जापान र भारतको) ग्रुपमा आफ्नो सहभागिता र प्रतिनिधित्व बढाएको छ ।

इण्डोप्यासिफिक क्षेत्रमा चीनको शक्तिलाई निस्तेज गर्न अमेरिकाको सक्रिय सहयोगमा भारत, जापान, अस्ट्रेलिया लगायत आसियानका मुलुकहरुको गोलाबन्दी भइरहेको अवस्था छ । लद्दाखको भिडन्तपछी संसारको दृष्टि रुस तर्फ दृष्टिगोचर भइरहेको छ । खास गरेर विगतका केहि वर्षमा रुस र चीनको सामिप्यतामा व्यापक वृद्धि भइरहेको छ । अमेरिका र युरोपेली युनियनलाई घेराबन्दी गर्न विश्वका दुई ठुला महाशक्ति रुस र चीनको बीच सामरिक मिलन भइरहेको अवस्था छ । अर्को तर्फ रुस र भारतको सम्बन्ध पनि बडो रोचक देखिन्छ । सन् १९४७ देखि हाल सम्म संसारको हरेक गठबन्धन र गठजोड परिवर्तित भएको छ तर रुस र भारतको सम्बन्ध कालजयी देखिएको छ । सुरक्षा परिषदमा भारतको पक्षमा अनवरत रुपमा भिटो प्रयोग गर्ने सोभियत रुस नै थिए । तर रुस र अमेरिकाको बीच तिक्तता दिन प्रतिदिन बढी रहेको छ ।

अफगानिस्तानमा अमेरिकी गतिविधिमा अंकुश लगाउन तालिबानको आतंकवादी समुहलाई सहयोग गरेको आरोप रुसमाथि लागेको छ । जसका कारण उसको अमेरिकासँगको टकरावमा वृद्धि गरेको छ । यसरी अमेरिका भारतसँग खुलेआम युद्धको भुमरीमा ओर्लिनुले भारत र रसियाको सम्बन्ध कस्तो होला भन्ने प्रश्न कुटनीतिज्ञहरुको मानसपटलमा खलबलाईरहेको अवस्था छ । तर रुसले आफ्नो ७५ औं सैनिक विजय दिवसको अवसरमा भारतका रक्षामन्त्रीलाई प्रमुख आतिथ्य प्रदान गरेर के सन्देश दिएको छ भने रुस र भारतको मैत्रीलाई कुनै पनि गठबन्धन र गठजोडले प्रभावित गर्न सक्दैन । अर्थात् भारत र रुसको बीच सामरिक सम्बन्ध बलियो रहेको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहको भ्रमणको सन्देश पूर्ण रुपमा सामरिक नै थियो । भारतलाई न्युलियर र स्पेस कार्यक्रममा सहयोगको निरन्तरता दिनु, ४०० मिसायल सिस्टमको सहयोग गर्नु जस्ता सन्देशले रुस प्रष्ट रुपमा के भनेका छन् भने भारत र चीनको बीचमा युद्ध भएमा रुस चीनको पक्षमा उभिने छैन । तर विगतका दिनमा रुसले भारतसँग अरु देशको द्वन्दमा सहजीकरण गरेको थियो । सन् १९६५ मा भारत र पाकिस्तानको युद्धको बेला रुसले अभिवावकिय भूमिका खेलेर भारत र पाकिस्तानको बीच तासकन्द सम्झौता गराएको थियो । वर्तमान अवस्थामा पनि पुटिनको नेतृत्वमा नै यस्तो सामर्थ छ कि भारत र चीनको बीच द्वन्द सहजीकरण र शिथिलीकरण गर्न सकोस् । भारत र चीनको बीचमा भएको द्वन्दलाई विश्लेषण गर्दै चिनियाँ मुलका अमेरिकी विद्वान युन स्यानले फरक व्याख्या गरेकी छन् । उनले प्रष्ट रुपमा भनेकी छन् कि वर्तमान अवस्थामा भारतको भावनालाई अंग्रेजी छापाखानाले यथेष्ठ स्थान दिएको छ जबकी चिनियाँ भावनालाई अंग्रेजी छापाखानाले हेपाहा प्रवृतिले व्याख्या गरेकी छन् ।

युन स्यानले सी चिन फिङको नेतृत्व माथि कटाक्ष गरेकी छन् तर चिनियाँ भावना प्रति संवेदनशीलता हुन सम्पूर्ण मानव समुदायलाई अपिल गरेकी छन् । अर्को तर्फ भारतले आफ्नो आक्रोशलाई व्यक्त गर्न गान्धीको सूत्रलाई मनन गरेको देखिन्छ । एक समयमा चीनमा एउटा कथन स्थापित भएको थियो कि जनसंख्या नै शक्ति हो । चीनको जनसंख्या संसारमा सर्वाधिक भएको कारणले चिनियाँ सर्वोच्चताजहाँ पनि स्थापित हुनुपर्दछ भने चिनियाँ भनाइ थियो । आउने दिनमा संसारको सर्वाधिक जनसंख्या भएको देश भारत हुनेछ । अर्थात् चिनियाँ भनाइलाई सापटी लिने हो भने भारतले “डेमोग्राफिक डिभीडेन्ट” (जनसांख्यिक लाभांश) प्राप्त गर्नेछ । भारतले चिनियाँ वस्तुहरुलाई वहिष्कार गर्न व्यापक रुपमा आन्दोलन चलाईरहेको छ । यसलाई “डिजिटल स्ट्राइक” को संज्ञा समेत दिइएको छ । भारतले ५९ वटा चिनीयाँ एप्सलाई भारतमा निषेध गरेको छ भने चिनियाँ लगानीलाई परित्याग गर्न कदमहरु चालिरहेको छ । विश्वको सर्वाधिक जनसंख्या भएको देशमा निर्यात घटनाले चिनीयाँ अर्थतन्त्र नै ध्वस्त हुने विश्लेषकहरुको भनाइ रहेको देखिन्छ । टिकटक बाट मात्रै चिनियाँ कम्पनीले १ बिलियन अमेरिकी डलरको क्षति वहन गर्नुपरेको छ ।

यसरी भारतले चीनको सामानलाई बहिष्कार गर्नु र चीन र भारतको बीच भिडन्त हुनुले दुईवटै उदियमान अर्थतन्त्र धाराशाही हुनसक्ने सम्भावनालाई नकार्न सकिदैन । आउने दिनमा एसियाको नेतृत्व संसारमा होस् भन्ने सोचका साथ भारत र चीनको बीच मिलनबिन्दु खोज्नुपर्दछ । कुटनीतिक मञ्चमा चीनको पोल्टामा उत्तर कोरिया र पाकिस्तान जस्ता बद्नाम शासकीय व्यवस्था भएका मुलुकहरु मात्र देखिएको छ । यस अवस्थामा चीनले र भारतले मानव सभ्यताको उच्चतम चेतका दयोत्क हुन् र दुई वटै मुलुकहरु वार्ताबाट सम्पूर्ण मुद्दाहरुलाई छिनोफानो गर्नुपर्दछ ।



प्रतिक्रिया दिनुहोस्