गोरखा, २१ असार । गोरखामा कोरोनाबाट मरेकाको शव १२ घण्टापछि अन्त्येष्टि भएको छ । स्थानीयबासीको दिनभरको अवरोधपछि नेपाली सेनाको विशेष टोलीले सहिद लखन गाउँपालिका १ लुदीखोलाघाटमा अन्त्येष्टि गरेको हो ।
कोरोना फैलने भन्दै स्थानीय समुदायले अवरोध गर्ने क्रममा पटकपटक झडप भएको थियो । स्थानीयबासीले अन्त्यष्टी गर्ने घाटसम्म जाने बाटोमा ह्युमपाइप तेस्र्याएर अवरोध गरेका थिए । सडक सुचारु गर्न खोज्ने प्रहरीमाथि स्थानीयबासीले ढुङ्गामुढा गरेका थिए भने भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज र सात सेल अश्रुग्यास प्रहार गरेको थियो ।
झडपमा चारजना प्रहरी र केही आसपासका बासिन्दा घाइते भएका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए । केही युवालाई नियन्त्रणमा लिएर छाडिएको उनले बताए । भीड तितरबितर भएपछि साँझ छ बजे नेपाली सेनाको विशेष टोलीले मृतकको दाहसंस्कार गरेको रणसिंह दल गणका गणपति उज्वल केशीले जानकारी दिए ।
गत मंगलबार कतारबाट घर फर्केका पालुङ्टार नगरपालिका ७ पुर्नेपिपलका ४४ वर्षीया पुरुषको शनिबार बिहान पाँच बजे गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी मधुमेहका दीर्घरोगी पनि रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ । FIle photo