Logo

विदेशमा अलपत्र परेकाको उद्धार जारी



काठमाडौँ, २२ असार । दुई एयरलाइन्सले विभिन्न मुलुकबाट दैनिक औसत पाँचदेखि छवटा अन्तर्राष्ट्रिय उडान गरी समस्यामा परेका नेपालीलाई उद्धार जारी राखेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स र निजी क्षेत्रको हिमालय एयरलाइन्सले चार्टर्ड उडान गरी उनीहरुलाई स्वदेश फर्काइरहेका हुन् ।

नेपाल एयरलाइन्सले दैनिक तीनदेखि चार र हिमालयले दैनिक दुईदेखि तीन उडान भर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यी उडानमा कहिलेकाहीँ गन्तव्य तथा उडान सङ्ख्यामा पनि तलमाथि हुने गरेको छ । दुवै एयरलाइन्सले जुलाई महिनामा हुने उडान तालिका बनाएर धमाधम चार्टर्ड उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले जुलाई ११ तारिखसम्मको उडान तालिका सार्वजनिक गरेको छ । यसैगरी हिमालयले जुलाई दुईदेखि १० सम्मको उद्धार उडान तालिका निर्धारण गरेको छ । नेपाल एयरलाइन्सले यसअघि जुन पहिलो सातादेखि महिनाभर विभिन्न मुलुकमा चार्टर्ड उडान गरी नेपालीलाई स्वदेश ल्याएको थियो ।

त्यस्तै हिमालयले जुन १६ देखि अन्तिमसम्म उद्धार उडान गरेको थियो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जुलाई महिनाको १२ तारिखसम्म मात्रै उद्धार उडान हुने जानकारी दिनुभयो । यसपछि एकरदुई साता चार्टर्ड उडान नहुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जुन महिनामा छुटेकासहित उद्धार उडान जुलाईको ११ देखि १२ तारिखसम्म हुनेछ । यसपछि दुई साता उडान हुनेछैन । सरकारले निर्णय गरेमा थप उडान हुनसक्ने जनाइएको छ ।

नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपुराज ज्युहार्चनले निगमको पूर्वनिर्धारित तालिकाअनुसार दैनिक तीनदेखि चार उडान भइरहेको जानकारी दिनुभयो । पछिल्लो पटक निगमको एक वाइड बडी जहाज ग्राउन्डेड भएकाले अहिले दैनिक सरदर तीन उडान भइरहेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी र दुई न्यारोबडी जहाज छन् । हिमालयसँग तीन न्यारो बडी जहाज छन् ।

पर्यटन मन्त्रालयले जुलाई महिनामा विभिन्न मुलुकबाट गरिने उद्धार उडानका लागि नेपाल एयरलाइन्सलाई तीन र हिमालयलाई दुई उडान अनुमति दिएको छ । अन्य विदेशी एयरलाइन्सले पनि नेपालीको उद्धार उडानका लागि अनुमति पाएको खबर आजको वीनेपालीले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्