Logo

कांग्रेस महाधिवेशन फागुनमा होला त ?



काठमाडौ, २३ असार । नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौं गर्ने निर्णयसहित पूर्ववत सबै कार्यतालिका संशोधन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको अन्तिम मिति कायमै राखेर अन्य सबै तालिका संशोधन गरेको हो ।

असार १४ गतेको पदाधिकारी बैठकले तयार गरेको संशोधित कार्यतालिकालाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । माघ १४ गतेको केन्द्रीय समितिले तय गरेको पूर्वर्निधारित कार्यतालिकामा कत्तिमा दुई महिना संशोधन गरिएको छ ।तर, संशोधित कार्यतालिका अनुसार कार्यसम्पादन हुनेमा कांग्रेस नेताहरूले नै आशंका व्यक्त गरेका छन् ।

असार १४ गते बसेको पदाधिकारी बैठकले तयार गरेको कार्यतालिकालाई केन्द्रीय समितिले अनुमोदन गरेको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए । पदाधिकारी बैठकले तयार गरेको प्रस्तावमा संगठन समायोजनको काम सक्ने समय अवधि भने साउन १० गतेसम्मका लागि थप गरिएको छ ।

एकातिर कोरोना भाइरसको जोखिम बढ्दै गएको छभने अर्कोतिर फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै सकिएको छैन । संशोधित कार्यतालिका अनुसार साउन १० गतेभित्र संगठन समायोजनको काम सक्ने भनिएको छ । तर, आन्तरिक विवादका कारण अझै २६ जिल्लाको संगठन समायोजनको काम बाँकी छभने ५१ जिल्लाको मात्र समायोजनको काम सकिएको छ अहिलेसम्म । थपिएको समयमा पनि विवादित जिल्लाको समायोजनको काम सकिने अवस्था नभएको खबर आजको नागरिक दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्