Logo

सीमावर्ती क्षेत्रमा संक्रमणको जोखिम बढ्दै



विराटनगर, २४ असार । कोरोनाको त्रास बढ्दै गएपनि मोरङमा भारतसँगको सीमा क्षेत्रमा ओहोरदोहोर गर्ने क्रम रोकिएको छैन । दुवै देशमा लकडाउन गरी अन्तर्राष्ट्रिय सीमा बन्द भए पनि लुकिछिपी ओहोरदोहोर गर्ने क्रम सीमावर्ती क्षेत्रमा बढ्दो छ ।

भारतसँगको मुख्य नाकाहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहे पनि अन्य सहायक नाकाहरूबाट सजिलै मानिसहरू आवतजावत गरिरहेका छन् । खुला सीमानाका कारण भारतबाट नेपाल भित्रन सजिलो हुने गरेको छ । आवतजावत बढेसँगै सहायक नाकाहरूबाट चोरी तस्करी मौलाएको छ । मुख्य नाकामा सुरक्षाकर्मीहरूले कडाइ गरे पनि साना नाकाहरूबाट हुने आवतजावतलाई सुरक्षाकर्मीहरूले वेवास्थागर्दै आएका छन् । भारतबाट अवैध रूपमा आउने मानिसहरूका कारण प्रदेश १ को राजधानी विराटनगरलगायतका सीमावर्ती क्षेत्रका बस्तीहरू कोरोना संक्रमणको उच्च जोखिममा छन् ।

पछिल्लो समय विराटनगरको जोगबनी नाका आसपासका सहायक नाकाहरूबाट भारततर्फ किनमेलका लागि जानेहरूको भीड बढेको छ । यसरी जाने नेपाली उपभोक्ताबाट नेपालमा कोरोना भित्रने र समुदायमै संक्रमण फैलने खतरा रहेको स्थानीयवासीको भनाइ छ । नाकाबाट अवैध रूपमा हुने आवतजावत रोक्न विराटनगर महानगरपालिकाले विशेष पहल गरिरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले बताएको खबर आजको नागरिक दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्