Logo

कोरोना भाइरस बन्द कोठामा १० मिटरभन्दा टाढासम्म फैलिन सक्ने



एजेन्सी, २४ असार । कोरोना भाइरस (कोभिड १९) बन्द कोठाभित्र १० मिटरभन्दा लामो दुरीसम्म फैलिनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । वैज्ञानिकहरुका अनुसार कोरोना भाइरस बोकेका सूक्ष्म थोपा (ड्रपलेट)हरु बन्द कोठामा १० मिटरभन्दा लामो दूरीसम्म फैलिन सक्छन् ।

जसको कारण अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दिएको भौतिक दुरीको नियमले कोरोना भाइरस नियन्त्रण गर्न नसकिने उनीहरुको भनाइ छ । विश्वका ३२ मुलुकका २३९ वैज्ञानिकहरुले डब्ल्यूएचओलाई पत्र लेख्दै यसबारे जानकारी गराएका हुन् ।

वैज्ञानिकहरुका अनुसार बन्द कोठामा पाँच माइक्रोमिटरभन्दा साना ड्रपलेटहरु १० मिटरभन्दा लामो दुरीसम्म फैलिन सक्छन् । अहिलेसम्म डब्ल्यूएचओले कोरोना भाइरस नियन्त्रणको लागि कम्तीमा एक मिटरको भौतिक दुरी कायम राख्न दिशानिर्देश जारी गर्दै आएको छ ।

पछिल्लो समय विश्वभरका मुलुकहरु कोरोना भाइरस नियन्त्रण तथा रेष्टुरेन्ट, पसल र सिनेमाजस्ता व्यावसायिक क्षेत्र खोल्न संघर्ष गरिरहेको अवस्थामा वैज्ञानिकहरुले यस्तो चेतावनी दिएका हुन् । स्रोत : साउथ चाइना मर्निङ पोस्ट



प्रतिक्रिया दिनुहोस्