Logo

अमेरिकाको नयाँ नितिले १० हजार नेपाली विद्यार्थी मारमा



काठमाडौ, २६ असार । अमेरिकी सरकारले अन्तराष्ट्रिय विद्यार्थीको हकमा ल्याएको नयाँ भिसा नीतिका कारण दश हजार नेपाली विद्यार्थी मारमा पर्ने भएका छन् । अमेरिकाको नयाँ भिसा नीतिमा अमेरिकामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरू अनलाइन कक्षामा सहभागिता जनाउन नपाउने भएका छन्।

अमेरिकी सरकारको द स्टुडेन्ड एन्ड इक्सचेन्ज भिजिटर प्रोग्राम९एसइभिपि०ले सोमबार प्रकाशित गरेको एम–वन र एफ–वन भिसामा परिवर्तन गरी नयाँ भिसा नीति कार्यान्वयनमा ल्याएको हो । नयाँ भिसा नीतिले अब आउँदो अगस्ट÷सेप्टेम्बरको शैक्षिक सत्रमा अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थीहरूले अनलाइन कक्षामा सहभागिता जनाउन पाइने छैन ।

विदेशी विद्यार्थी शैक्षिक संस्थाहरूमा भौतिक रुपमै उपस्थित भई कक्षा लिनुपर्नेछ । विदेशी विद्यार्थीले यो नीति नमाने अमेरिकी सरकारले त्यस्ता विद्यार्थीको भिसा रद्ध गरी स्वदेश फर्काउने नयाँ भिसा नीतिमा उल्लेख छ । कठोर भिसा नीतीका कारण अमेरिकामा स्नातकदेखि विद्यावारिधी अध्ययनरत नेपाली विद्यार्थीहरूको भविष्य नै अन्योलमा परेको छ ।

अमेरिकन सरकारले एकातिर कठोर भिसा नीति अपनाएको छ भने अर्को तर्फ कोरोनाको जोखिम भन्दै शैक्षिक संस्थाहरू बन्द गरेर अनलाईन कक्षा संचालन गर्दै आएका छन्। उनीहरूले विद्यार्थीलाई कक्षामा उपस्थित गराएर पठनपाठन गराउने जोखिम मोल्न तयार छैनन्। जसका कारण अमेरिकामा उच्च शिक्षा हासिल गर्ने सपना बोकेर गएका विद्यार्थीहरू निरास भएका छन् ।

‘भिसा नीतिले विदेशी विद्यार्थीलाई अगामी सेमेस्टरमा कक्षामा उपस्थित भएर पठनपाठन गर भन्छ तर कलेजहरू खोल्न मान्दैनन्,’ न्यूयोर्कको एक कलेजमा अध्ययनरत सुजन श्रेष्ठले नागरिकसँग भने, ‘तर अमेरिकन विद्यार्थीको लागि भने अनलाइन पठनपाठनको सुविधा कायमै छ । हामी विदेशी विद्यार्थीसँग विभेद गरिएको छ ।’ उनले गुनासो गरे, ‘म स्नातक चौथो सेमेस्टरमा अध्ययनरत छु । कोभिडको जोखिम बढ्दो छ । कलेज खुल्दैनन्, निकै मर्कामा परेका छौं ।’

नयाँ भिसा नीतिले विदेशी विद्यार्थीले अमेरिकन शैक्षिक संस्थाहरूमा एउटा विषय वा ३ क्रेडिट कोर्ष बराबरको मात्र अनलाइन पठनपाठन गर्न पाइने पनि व्यवस्था छ । अन्य विषयहरू कक्षामा अनिवार्य उपस्थित भएरै पढ्नु पर्छ । यो नियम नमाने भिसा रद्ध गरी देश निकाला गरिने समाचार आजको नागरिक दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्