Logo

यी हुन् अन्तर्राष्ट्रिय उडानको मापदण्ड



काठमाडौँ, २६ असार : आन्तरिक वायुसेवालाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय वायुसेवाको रुपमा तीन वटा वायुयानबाट सेवा सञ्चालनका लागि कम्पनी रजिष्ट्रार कार्यालयबाट प्रमाणित चुक्ता पूँजीसम्बन्धी विवरण पेस गर्नुपर्ने हुन्छ ।

जसअनुरुप ‘क’ वर्गको वायुसेवा सञ्चालन गर्न रु एक अर्ब, ‘ख’ वर्गको वायुसेवा सञ्चालनका लागि रु ७५ करोड र ‘ग’ वर्गको वायुसेवा सञ्चालन गर्न रु ५० करोड चुक्ता पूँजी हुनुपर्छ । तीन वटाभन्दा बढी वायुयानबाट अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्ने भएमा प्रत्येक थप वायुयानका लागि माथि उल्लेखित चुक्ता पूँजीमा रु १० करोड थप गर्नुपर्नेछ ।

अहिले नेपालका वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय हवाई उडानका लागि अनुमति भए पनि मालबाहक वायुसेवा (कार्गो) को इजाजतपत्र नभएकाले समस्या भएको छ । अन्तर्राष्ट्रिय उडानको इजाजत पाएमा ती कम्पनीले कार्गो, चार्टर्ड र सेडुअल उडान गर्न सक्नेछन् ।

अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि इजाजत लिन दुई प्रक्रियामध्ये एक प्रस्ताव आह्वान गरेर र अर्को खुल्ला प्रतिस्पर्धाबाट हुने प्रावधान रहेको छ । तोकिएको मापदण्ड पूरा गरेर खुल्ला प्रतिस्पर्धाबाट पनि अन्तर्राष्ट्रिय उडानको इजाजत लिन सकिने मन्त्रालयले जनाएको छ ।

आन्तरिक उडानका सौर्य, सीतालगायत वायुसेवा कम्पनी अन्तर्राष्ट्रिय उडान गर्न इच्छुक रहेपनि निवेदन दिएनन् । नेपालमा १० हेलिकप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान गर्दै आएका छन् । हाल नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय उडान गर्न चाहने वायुसेवा कम्पनीको योग्यताअन्तर्गत आन्तरिक वायुसेवाबाट अन्तर्राष्ट्रिय वायुसेवा संस्थामा स्तरोन्नति हुनेतर्फ पाँच वर्ष अनवरतरुपमा आन्तरिक वायुसेवा सञ्चालन गरिरहेको, सञ्चालनका लागि चाहिने चुक्ता पूँजी भएको र वायुसेवा संस्थासँग कम्तीमा पाँच वटा वायुयान सञ्चालन रहेको हुनुपर्नेछ ।

‘अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ को खण्ड ६ बमोजिम रु ५० हजार निवेदन दस्तुर र अन्य आवश्यक कागजातसहित प्रस्ताव आह्वानको मितिबाट ४५ दिनभित्र मन्त्रालयसमक्ष निवेदन दिनुपर्नेछ । धरौटी, इजाजत दस्तुर र रुट रोयल्टीवापतको रकम तथा अन्य शुल्कहरु अन्तर्राष्ट्रिय हवाई सेवा इजाजतसम्बन्धी कार्यविधिमा भएको व्यवस्था बमोजिम लागू हुने मन्त्रालयले जनाएको छ ।

योग्यता पुगेका आन्तरिक वायुसेवाको मूल्याङ्कन गरी योग्य आन्तरिक वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गरिनेछ । मन्त्रालयबाट इजाजतपत्र प्राप्त गरेपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (एओसी) लिनुपर्ने हुन्छ ।

मन्त्रिपरिषद्को गत वैशाख १५ गतेको निर्णयानुसार स्वीकृत नेपालका निजी क्षेत्रलाई ‘अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ मा भएको व्यवस्थाबमोजिम अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्नका लागि योग्यता र सर्त पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्