Logo

वाग्मती प्रदेशसभाको बैठक साउन २ गते बस्ने



हेटौँडा, २६ असार : असार २९ गते बस्ने भनिएको बैठक विशेष कारणले स्थगित गरी साउन २ गतेका लागि सारिएको प्रदेशसभाका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।

प्रदेश सरकारले यही असार १९ गते आर्थिक वर्ष २०७७-७८ का लागि विनियोजित बजेट र आर्थिक विधेयक प्रस्तुत भई पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक साउन २ गते दिनको २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा विभिन्न चार वटा विधेयक पूर्ण छलफलका लागि प्रस्ताव टेबुल हुने प्रदेशसभा सचिवालयका प्रवक्ता अमात्यले जानकारी दिए ।

दुई विधेयक प्रमाणीकरण

यसैगरी प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले बिहीबार दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रमुख प्रसाईँले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी वाग्मती प्रदेशसभा बैठकबाट पारित भई आएको दुई वटा विधेयक प्रमाणीकरण गराएका हुन् ।

यसरी प्रमाणीकरण भएको विधेयकमा प्रदेश सरकारको आव ०७७÷०७८ का लागि सेवा र कार्यहरुप्रति वाग्मती प्रदेश सरकारको सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्न बनेको व्यवस्था विधेयक– २०७७ र प्रदेश सरकारको अर्थ सम्बन्धित प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक– २०७७ लाई प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत राजेशकुमार तामाङले बताए ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्