Logo

बाजुरामा झोलुंगे पुलमाथि पानी



बाजुरा, २८ असार । लगातारको वर्षाले बुढीगंगा र कर्णाली नदीमा रहेका पुल उच्च जोखिममा परेका छन् । बुढीगंगा नदीले बाजुराको ताप्रीसेरा, तिपाडा, रापक अछामको साँफे, बुढाबगरलगायत ठाउँका दर्जनौ पुल उच्च जोखिममा रहेका हुन् । त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा छ ।

बुढीगंगा नदीको ताप्रीसेरामा रहेको झोलुंगे पुलभन्दा माथि पानी बग्न थालेपछि स्थानीय जोखिमपूर्ण यात्रा गरिरहेका छन् । स्थानीय धनराज जैशीले पुल पनि जीर्ण बन्दै गएकाले आवतजावत बन्द भएको बताए ।

त्यस्तै कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल वर्षाको समयमा जोखिम बन्ने गरेको छ । पुलको दुबैतिर रहेको पर्खालसमेत भत्किन थालेको छ । कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा रहेको स्थानीयको भनाइ छ । वाई वाधु जोड्ने पुल, गोत्री साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोड्ने आधा दर्जन पुल जोखिममा रहेका हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लले जानकारी दिए ।

लगातारको पानीले पुल भन्दा माथि कर्णाली नदीको बहाव बढेपछि बाजुराका कर्णाली पारीको स्वामीकार्तिक खापर गाउँपालिकामा आवतजावत गर्न समस्या भएको स्वामीकार्तिक खापर गाउँपालिकाका सुब्वा कुबेर शाहीले बताएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ । FIle photo



प्रतिक्रिया दिनुहोस्