Logo

नेकपाभित्र चिनियाँ प्रभावः राजदुतको चार भेटले ओली हटाउन खोज्ने समुह शिथिल



काठमाडौं, २८ असार । चिनियाँ राजदुत होउ यान्छीले सात दिनको फरकमा चारवटा महत्वपूर्ण भेट गरिन् । पहिलो भेट १९ असारमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको छ । त्यसपछि उनले नेपाल कम्युनिस्ट पार्टीका ओलीविरोधी समुहका तीनजना मुख्य नेताहरुसँग भेटवार्ता गरिन् ।

२१ असारमा वरिष्ठ नेता माधवकुमार नेपाल, २३ असारमा अर्का वरिष्ठ नेता झलनाथ खनाल र २५ असारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटले नेपाली राजनीतिमा ठुलो असर पार्यो । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका नेताहरु मथ्थर भए । राजदुत यान्छीले नेकपाभित्रको विवाद मिलाउन यसरी भुमिका खेलेको यो दोस्रो पटक हो । यसअघि पनि उनले यसरी नै सक्रियता देखाएर मथ्थर पारेकी  थिइन् ।

नेकपाभित्र दुईपटक आन्तरिक विवाद मिलाउन चिनियाँ राजदुत होउ याङ्कीको सक्रियता छरपष्ट भएको छ । यसले नेकपाभित्र चिनियाँ प्रभाव बढेको मात्र नभई नेपाली राजनीतिमा समेत उसको खुलेआम संलग्नता छर्लंङ्ग भएको छ । विगतमा भारतीय राजदुत यसरी नै दौडधुप गर्थे । अहिले चिनियाँ राजदुतको भुमिका त्यस्तै देखिन थालेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच सम्बन्ध गहिरिएको छ । दुवै पार्टीबीच संयुक्त प्रशिक्षण हुनथालेको छ । उत्तरतर्फ उड्न टिकट काटिने आशामा नेकपा नेता कार्यकर्ता बस्न थालेका छन् । भारतबाट पश्चिम बँगालबाट स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीमा आठ दशकयता कम्युनिस्ट शासन भएको छिमेकी चीनको प्रभावलाई अर्थपूर्ण मानिएको छ ।

कुनैबेला विद्रोही बनेर सशस्त्र जनयुद्धमा लागेको नेकपा माओवादी भारतमा बढी सक्रिय थियो । उसका कतिपय नेताहरु भारतको शहरहरुमा बस्थे भन्ने खुलिसकेको छ । माओवादीको अवतरणको आधार बनेको १२ बुँदे समझदारी नयाँ दिल्लीमा भएको थियो । त्यसमा भारतको भुमिकाबारे विषय उठिरहने गर्छ । भारतले नेपालको राजनीतिमा व्यवस्था नै परिवर्तनका लागि ठुलो हस्तक्षेप गरेको बहस अहिलेसम्म भइरहने गर्छ । तर, परिवर्तित व्यवस्थापछि भने नेपालको मुख्य दलमा मात्र नभई सत्तामै चीनको प्रभाव बढेको देखिएको छ । यसबारे नेपालमा मात्र नभई भारतमा पनि चासो बढेको छ ।



प्रतिक्रिया दिनुहोस्