Logo

अर्बौको लगानी सङ्कटमा



पोखरा, २९ असार। कोरोनाका कारण गरिएको बन्दाबन्दीसँगै पर्यटन क्षेत्रमा परेको असरले पोखराको पर्यटन क्षेत्रको अर्बौंको लगानी सङ्कटमा परेको छ । पर्यटन व्यवसायसँगै व्यवसायी सङ्कटमा परेका छन् ।

बन्दाबन्दी खुल्ने र पर्यटक आउने यकिन नभएपछि भाडा मात्र तिरेर बस्न सक्ने अवस्थामा पनि नरहेका पर्यटन व्यवसायी व्यवसाय छाड्न थालेका छन् । पोखराको लेकसाइडमा होटल व्यवसाय गर्दै आएका ७० जना व्यवसायी पर्यटन क्षेत्रबाट विस्थापित भइसकेका छन् भने करिब एक सयको हाराहारीमा होटल व्यवसायीले व्यवसाय बन्दको घोषणा गरेका छन् ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनका अनुसार पोखरामा मात्र बन्दाबन्दीका कारण ७० भन्दा बढी साना होटल व्यवसायीले व्यवसाय छाडिसकेका छन् । पोखरामा सानाठूला गरेर सात सय होटल छन् । २५० वटा होटल घरधनी आफैँले चलाएका छन् । जसमा एक खर्ब २५ अर्ब लगानी छ ।
पोखराका होटल व्यवसायमा पछिल्लो समयमा थुप्रै बैङ्कले पनि लगानी गरे । तुलाचनका अनुसार ७० देखि ८० अर्ब रुपियाँ बैङ्कको लगानी छ । लेक साइडमा ४० हजारदेखि मासिक १२ लाख रुपियाँसम्म भाडा तिर्ने होटल व्यवसायी छन् ।

समस्या समाधानका लागि दीर्घकालीन नीतिगत संरक्षण गर्न सरकारसँग माग गरेको अध्यक्ष तुलाचनले बताउनुभयो । विद्युत् छुट पनि उत्पादन क्षेत्रलाई मात्र दिइयो हामीलाई दिइएन, उहाँले भन्नुभयो । करिब चार महिनादेखि जारी बन्दाबन्दीका कारण भाडामा व्यवसाय सञ्चालन गरेका र बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरू बढी मारमा परेको तुलाचनले बताउनुभयो ।

पर्यटन क्षेत्रलाई माथि उकास्न र नेपाल आउने बाह्य पर्यटकको सङ्ख्या बढाउने भन्दै सङ्घ र प्रदेश सरकारले घोषणा गरेका विभिन्न भ्रमण वर्षलाई लक्षित गर्दै व्यवसायीले लगानी थप गरेका थिए । भविष्य देखेर धेरै नयाँ व्यवसायी यस क्षेत्रमा प्रवेश गर्दै लगानी गरेका थिए ।

यता बैङ्कहरूले पनि लगानी गरेको रकम माग्न ताकेता गर्न सुरु गरेका छन् तर मेगा बैङ्कका गण्डकी प्रमुख कमल कँडेलले परिस्थिति बुझेर समस्यामा परेका व्यवसायीलाई सावाँ ब्याज बुझाउन खासै ताकेता नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, हामीले लगानी गरेकालाई ताकेता गरेका छैनौँ तर रकम बुझाउनेलाई २ प्रतिशत छुट दिएका छौ । यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्