Logo

सुन र चाँदी गायब पार्ने उपभोक्त संरक्षण विभागका पूर्वनिर्देशकसहित तीनविरुद्ध अख्तियारको मुद्दा



काठमाडौं, २९ असार । तत्कालीन समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठसहित ३ जनाविरुद्ध सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर परीक्षणका लागि लिएका सुनचाँदीका गहना तथा हिरा, हिराजवाहरात जस्ता बहुमुल्य धातु गायब पार्ने विभागका तत्कालीन निर्देशक लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्बासे तथा नायब सुब्बा रामबहादुर थापा मगरविरुद्ध मुद्दा दायर गरेको हो।

तीनजनाले विभागबाट विभिन्न समयमा भएका अनुगमनका क्रममा व्यापारीबाट नमुना परीक्षणका लागि भन्दै लिएको ४९ दशमलव ५२ ग्राम सुन र ७७ दशमलव ४२ ग्राम चाँदीका गहना गायब बनाएको देखिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ।

विभागका तत्कालीन निर्देशक श्रेष्ठले २०७३ माघ ७ गते काठमाडौंको न्युरोडको नोज पिन हाउस र २०७३ चैत ३० गते पोखराका विभिन्न सुनचाँदी पसलबाट गहना गायब गरेको पाइएको छ ।

‘२०७३ चैत ३० गते दल बहादुर एन्ड सुनचाँदी पसल, दि युनाइटेड ज्वेलर्स प्रालि, गोरखा एन्ड बराह ज्वेलरी इण्डस्ट्रिज प्रालि, फेवा सन्तोष सुनचाँदी दोकान र अर्जुन पुम्दी भुम्दी सुनचाँदी पसल, पोखरामा अनुगमन गरी संकलन गरिएका गहनाहरुका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, कास्कीबाट उल्लिखित पसलका गहना जफत हुने ठहर्छ भन्ने फैसला हुँदासमेत उक्त सरकारी सम्पत्ति सम्बन्धित कार्यालयमा फिर्ता नगरी सरुवा भएपश्चात पनि उक्त गहनाहरु नबुझाई आफ्नो साथमा राखी हिनामिना गरेको देखिन्छ,’ आरोपपत्रमा भनिएको छ।

निर्देशक बेल्वासेले सूर्यबहादुर एण्ड सन्स ज्वेलर्स, ओटु काठमाडौंमा अनुगमन गरी संकलन गरिएका गहनाका सम्बन्धमा काठमाडौं जिल्ला अदालतबाट अभियोग दाबी नपुग्ने गरी फैसला हुँदासमेत उक्त सरकारी सम्पत्ति आफू सरुवा भएर गएपश्चात पनि उक्त पसलमा फिर्ता नगरी आफैले राखी हिनामिना गरेको अनुसन्धानमा देखिएको खबर आजको अन्न्पुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्