Logo

कक्षा ११ को पाठ्यक्रम नयाँ लागू गर्ने



काठमाडौँ, ३१ असार । सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको तयारीका विषयले प्राथमिकता पाउन सकेको छैन । नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा अनिवार्य विषय थप गरिए पनि त्यसको अध्यापनका लागि आवश्यक पर्ने हजारौँ जनशक्तिका बारेमा तयारी गर्न बाँकी रहेको पाइएको छ ।

नयाँ पाठ्यक्रम अध्यापनका लागि विद्यालयमा स्नातकोत्तर तह उत्तीर्ण शिक्षक चाहिन्छ । हाल स्नातक तहको जनशक्तिले कक्षा १० सम्म अध्यापन गराउँदै आएका छन् । माथिल्लो कक्षामा पढाउन माथिल्लो शैक्षिक योग्यता भएको जनशक्ति चाहिने भएकाले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने सम्बद्ध व्यक्तिहरूले आँैल्याउनुभएको छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले विद्यालय तहमा ५३ हजार शिक्षक आवश्यक पर्ने प्रतिवेदन सरकारलाई बुझाइए पनि यसतर्फ कुनै प्रयास हुन नसकेको बत९ाउनुभयो । कक्षा ११ मा अनिवार्य विषय दुईबाट तीनवटा गरिएपछि विद्यालयमा स्वतः माथिल्लो शैक्षिक योग्यताको शिक्षक आवश्यक पर्ने उहाँको भनाइ छ ।

शिक्षक थप नगर्ने तथा शिक्षकलाई अध्यापनका लागि आवश्यक तयारीसमेत नगरिएको अवस्थामा पठनपाठन प्रभावकारी हुन नसक्ने उहाँले बताउनुभयो । यसमा सरकारले आवश्यक तयारी गर्नुपर्नेमा उहाँको जोड छ । कक्षा ११ मा यस पटकबाट नेपाली र अङ्ग्रेजीका साथै सामाजिक विषयसमेत अनिवार्य गरिएको छ । सामाजिक विषय धेरै बोझिलो बनाइएको र नेपालीमा अध्यापन गर्नुपर्ने प्रावधानबाट यसको कार्यान्वयनमा जटिलता आउन सक्ने जनाइएको छ । राजधानीको गोठाटारस्थित तेजविनायक माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुप्रसाद तिमिल्सिनाले नयाँ पाठ्यक्रम लागू हुँदैछ भन्ने विषयमा विद्यालय, शिक्षक पूरै बेखबर रहेको भन्दै यसका लागि आवश्यक तयारी गर्न अब ढिला भइसकेको बत९ाउनुभयो ।

हाल कक्षा १० मा कार्यरत शिक्षकबाट मात्रै कक्षा ११ मा पढाउन नमिल्ने र यसबाट गुणस्तर कायम गर्न नसकिने उहाँको भनाइ छ । अनिवार्य विषय थप भएको तथा पाठ्यभार बढाइएको अवस्थामा शिक्षक अभाव हुनु भनेको पठनपाठन काम चलाउने मात्रै हुने उहाँ बताउनुहुन्छ । सामाजिक विषयका शिक्षक गोविन्द भण्डारी कक्षा १० मा अध्यापन गराएको शिक्षकलाई जबरजस्ती माथिल्लो तहमा पढाउन दिन नहुने स्पष्ट गर्दै यसले विद्यार्थीको सिकाइ उपलब्धि कमजोर बनाउने बताउनुहुन्छ ।

आवश्यक शैक्षिक योग्यतासमेत नपुगेको तथा अभिमुखीकरणसमेत नगरिएका शिक्षकलाई चलिहाल्छ नि भन्ने हिसाबले माथिल्लो कक्षामा पढाउन दिँदा यसले नेपालको शिक्षा क्षेत्रमा दीर्घकालीन समस्या ल्याउने उहाँको विश्लेषण छ । धेरै कमजोर पृष्ठभूमिका मानिस मात्र शिक्षकमा आउने क्रम नरोकिएको र शिक्षण पेसाप्रति युवा जनशक्तिमा मोह जाग्न नसकेको अवस्थामा कक्षा ११ मा योग्य शिक्षक ल्याउनेतर्फ तत्काल प्रयास गरिनुपर्ने उहाँले बताएको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्