काठमाडौं, ३१ असार । लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बाढीपहिरोबाट क्षति हुन नदिन शतर्कता अपनाएर काम भइरहेको बताएका छन् । उनले क्षति भइसकेको स्थानमा राहतका लागि कामहरु भइरहेको जानकारी गराए । यसै सेरोफेरोमा शर्मासँग ऋषि धमलाले गरेको कुराकानीः
लमजुङ जिल्लामा बाढीपहिरोले कति क्षति पुर्याएको छ ?
लमजुङको अवस्था अहिले त सामान्य छ । विगत केही दिनअघि परेको लगातारको अविरल वर्षले जिल्ला विभिन्न भागका मानिसको धनजनमा ठूलो क्षति पुर्याएको छ । त्यसपछि त्यस्तो मानवीय क्षेति हुन पाएको छैन । तर, अन्यत्र विभिन्न स्थानमा आएको बाढी पहिरोले गर्दा झन्डै १४० घर परिवार विस्थापित भएर अन्यत्र बस्न वाध्य छन् । घर भइरहेका ठाउँमा पहिरोको जोखिम भएकाले उनीहरुलाई अन्य ठाउँमा स्थानन्त्रण गरेर राखेका छौं ।
लमजुङका बाढी पीडितहरुको उद्दार व्यवस्थापन राम्रोसँग भएको छ ?
भइराखेको छ । उद्दार गर्न हामीले सकेसम्म प्रयास गरेका छौं । जुन ठाउँमा गाउँ, वस्ती माथिबाट पहिरो गएर नागरिकहरुको घर बगाउने जोखिम देखियो । त्यस्ता ठाउँका वासिन्दाहरुलाई सुरक्षित ठाउँमा स्थानन्त्ररण गरेर राखेका छौं । उनीहरुलाई राख्नको लागि कसैलाई विद्यालयमा राखिएको छ भने कसैलाई छिमेकीहरुको घरमा राखिएको छ । ती पीडितहरुलाई यसरी खाने, बस्ने व्यवस्था मिलाएका छौं ।
त्यसोभए ती पीडितहरुलाई खाने, बस्ने कुरामा कुनै समस्या छैन ?
अहिले नै उनीहरुलाई खाने, बस्ने कुरा त्यस्तो समस्या नै परिहालेको चाहीं छैन । किन भने अहिलेसम्म स्थानीय गाउँपालिका, नगरपालिका र वडा प्रतिनिधिहरुले हाम्रो सहयोग र समन्वयमा बस्ने, खाने व्यवस्था मिलाउनुभएको छ । त्यसकारण अहिले नै त्यस्तो समस्या परिहालेको छैन । तर, क्षति बढ्दै गयो र लामो समय पानी आयो भने केही समस्या हुन सक्छ । राहत र उद्दारका लागि विषयगत सबै क्षेत्र, व्यक्ति दत्तचित्त भएर लागेका छौं ।
धेरै ठाउँमा पीडितहरुले खानसमेत नपाएको सूचना आएका छन् लमजुङमा त्यस्तो छैन ?
अहिले नै भोकै बस्नुपर्ने अवस्था आइसकेको छैन । किन भने त्यहाँ प्रहरी कार्यालय पनि छ । गाउँपालिका, नगरपालिका र वडाका जनप्रतिनिधिहरु पनि सक्रिय छन् । त्यहाँका नागरिकहरुले पनि सहयोग गरेका छन् । केही ठाउँहरुमा हामीहरु पुगेका छौं । जस्तो आफ्नै घरमा ३, ४ जनाले पकाएर खाएजस्तो त हुँदैन ग्रुपमा खानुपर्दा । उपलब्ध साधन, स्रोत अनुसार खान, बस्नकै लागि चाहीं समस्या छैन । तर, ग्रुपमा बस्नु, खानुपर्दा केही असज त भइहाल्छ । विद्यालय, सामुदायिक भवनहरुमा बस्नुपरेको छ । त्यसकारण आफ्नै घरमा बसेर खाएजस्तो त हुँदैन । यद्यपि अहिलेको असहज परिस्थितिमा पीडितहरुलाई राम्रो व्यवस्थापन गरेका छौं ।
उद्दार, राहत र पुनःस्थापनको लागि के योजना छ ?
पहिला पीडितहरुलाई बढी जोखिम हुने सम्भावना भएका ठाउँबाट सुरक्षित ठाउँतिर स्थानान्तरण गर्दछौं । त्यसपछि उहाँहरुलाई खान, बस्नको लागि राहतको व्यवस्था गर्दछौं । कतिपय नागरिकहरुको लागि दीर्घकालीन रुपमै पुनःस्थापना गर्नुपर्ने हुन्छ । हाम्रो भौगोलिक दृष्टिकोण कतिपय ठाउँका नागरिकहरुको लागि बसोबास गर्न दीर्घकालीन रुपमा व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यो चाहीं प्रदेश, स्थानीय र केन्द्रीय सरकार सबैको सहयोग र समन्वयबाट मात्रै हुने कुरा हो । अहिलेलाई अस्थायी रुपमा पुनस्थापना गरिएको छ । वर्षाको समय भएकाले दीर्घकालीन पुनःस्थापनको कुरा पछि गर्ने गरी अहिलेलाई तत्कालको व्यवस्थापन गर्नतरि लागेका छौं ।
त्यहाँ बाढीपहिरोले सडक अवरुद्ध गरेको छ कि छैन ?
यहाँका धेरै सडकहरु अबरुद्ध गरेको छ । हामीहरुले मनाङ जाने सडक मर्मत गरिसकेका छौं । मध्येपहाडी लोकमार्ग खनिएको एरियामा धेरै ठाउँमा ठूलो–ठूलो पहिरो गएको र पानीपनि बगिरहेको छ । त्यहाँ पानीपनि धेरै परिराखेकाले मध्ये पहाडी लोकमार्गका केही भाग खुलाउन सकेका छैंनौं । अस्ती राति र हिजो दिनभरिको पानीले बाटो खुलाउन समस्या देखिएको छ । आज पानी परेन भने हामीले दिनभरमा बाटो सुचारु गरिसक्छौं ।
त्यसोभए आजबाट भित्री सडकहरु खुला हुन्छन् ?
धेरै ठाउँका भित्री बाटोहरु क्लियर भइसकेको छ । अब आज दिनभरिमा बाँकी सडक पनि क्लियर हुन्छ । आज दिउँसोसम्ममा धेरै ठाउँका सडकहरु सुचारु गराउँछौं । एउटै सडक धेरै ठाउँमा पहिरो गएकाले पनि सुचारु गर्न समय लागेको हो । फेरि पानी पनि परेको परेकै भएर काम गर्न गाह्रो भएको हो ।